धरान: इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी प्रकाश जबेगुले पत्रकारहरुमाथि पटक पटक आएको धम्कीहरु पनि सुरक्षा चुनौतीकोरुपमा थपिएको बताएका छन् ।
भक्तपुर सरुवा भएका जबेगु धरानबाट प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरुसँग भेट गर्दै यस्तो बताएका हुन् । उनले धरानमा पत्रकारहरुलाई पटक पटक धम्की आएको, मानमर्दन गर्ने काम भएको र पत्रकारको घरमा पनि खोजी गर्दै जानेसम्मका हर्कतहरु भएकोले सुरक्षा चुनौती बढेको बताए । यद्यपी उनले प्रहरीले यस्ता हर्कतहरुलाई सजग, सचेत र गम्भीरतापुर्वक लिएको पनि बताए ।
राज्यको चौथो अंग र जनताको तेस्रो आँखाकोरुपमा रहेको पत्रकारिता क्षेत्रलाई आएको धम्कीलगायत जुनसुकै घटनालाई कानुनको दायरामा ल्याउन कुनै कसुर बाँकी राख्न नहुने पनि डिएसपी जबेगुले बताए । ‘समाजलाई समृद्ध र अग्रगमनतर्फ लैजान पत्रकारहरुले ज्यू ज्यानको पर्वाह नगरी फिल्डमा उत्रेर काम गरिरहनुहुन्छ, तपाईको सुरक्षा गर्न प्रहरीले व्यक्तिगत र संस्थागतरुपमा सम्पर्कमा रहेर जुनसुकै घटनालाई गम्भीरतापुर्वक लिएर कानुन वमोजिम गर्ने कुरालाई पछि पर्नुहुदैन,’उनले भने,‘पत्रकारमाथि हुने धम्की, हर्कतहरु पनि धरानको एउटा चुनौतीकोरुपमा रहेको छ ।’
उक्त भेटमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारहरुकोतर्फबाट शुभकामना र मायाको चिनो पनि डिएसपी जबेगुलाई प्रदान गरेका थिए ।
'एक बर्षको बसाई अविष्मरणीय'
डिएसपी जबेगुले आफ्नो एक बर्षको धरान बसाई अवधि अविष्मरणीय भएको पनि बटाए । धरान सामाजिक, साँस्कृतिक र राजनीतिक हिसाबले चुनौतीपुर्ण रहेको पनि अनुभव सुनाए । ‘लागुऔषधको ट्रान्जिट र गन्तव्य पनि हो धरान । लागुऔषध कै कारणले जघन्य अपराध भएको छ, मेरो कार्यकालमा पनि भयो, र कानुनी दायरामा ल्याउन सफल पनि भयौं,’ उनले भने, ‘सामाजिक सद्भाव र पछिल्लो घटनाक्रम भदौं २३ र २४ गतेको घटना चुनौती छ, यसलाई प्रहरीको नयाँ नेतृत्वले राम्रोसँगले ट्याकल गरेर लैजानुपर्नेछ ।’
डिएसपी जबेगुको कार्याकालमा धरान ६ स्थित पाँचकन्या सामुदायिक वनभित्र हत्या गरेर फालिएकी वेवारिसे महिलाको पहिचान गरेर श्रीमान्सहित ६ जनालाई पक्राउ गर्न सफलता मिलेको थियो । यस्तै, धनुकटाबाट धरानतर्फ ल्याउदै गरेको ७ सय किलो गाँजासहित २ वटा गाडी र एक व्यक्ति पक्राउ गर्न सफल भएको थियो ।
यसैगरि, विभिन्न मिति र स्थानहरुबाट ३३८७ किलो गाँजा, ६९ ग्राम १९० मिलिग्राम खैरोहेरोइन, १ लाख ८६ हजार ७६६ वटा लागुऔषध क्याप्सुल, २८२ एम्पुल सुई, प्रतिबन्धित औषधी १ लाख ३ हजार ३२२ ट्याब्लेटसहित ३०९ जना व्यक्ति पनि पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
यस्तै, अदालतबाट दोषी ठहर भएर फरार रहेका २६८ जना पक्राउ गरेर उनीहरुको ६३ बर्ष १ महिना ११ दिन कैद र २५ लाख २ हजार ५६८ रुपैया जरिवाना असुल गरिएको साथै विभिन्न पेन्डिङ तथा नयाँ मुद्दा फछ्यौट गरी बाँकी ५३५३ मुद्दाहरुको सिएफडि समेत इन्ट्री कार्य सम्पन्न गरेको डिएसपी जबेगुले जानकारी दिएका छन् ।
भिडियो: