धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटिएको थियो । धरानबाट कालाबञ्जार तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको २२० को पल्सर मोटरसाइकल र कारलाई प्रहरी टोलीले रोक्न खोजेको थियो । उक्त प्रहरी देखेपछि मोटरसाइकल र कार पुनः धरानतर्फ नै फर्किएर भागेको प्रहरीले जनाएो छ ।
प्रहरी टोलीले पनि पछ्याउदा कार बीच बाटोमा नै छोडेर चालक पनि मोटरसाइकलमा चढेर धरानतर्फ भागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त कारलाई चेकजाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ११ वटा प्लाष्टिकको पोकामा ३४० किलो गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाई छ ।
वरामद भएको गाँजा सहित कार नियन्त्रणमा लिए इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ । फरार रहेको मोटर साइकल, मोटरसाइकल चालक र कार चालकको पनि खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।