धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् ।
प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी सहायक निरीक्षक प्रदिप लिम्बु र प्रहरी हवल्दार चण्डीमान राईको कमाण्डमा खटिएको टोलीले फरार मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखेको प्रहरीले जनाएको छ ।
यस्तै, झुम्का कारागारबाट नै फरार जर्बजस्ती करणी मुद्दाका कैदी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटाका छथरजोरपाटी गाउँपालिका ४ का ३४ बर्षीय नितेश भन्ने योगेन्द्र बिक पनि पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी विजयपुरबाट प्रहरी हवल्दार गणेश रायको कमाण्डमा खटिएको टोलीले फरार बिकलाई धरान वडा १४ विजयपुरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरि, लागुऔषध मुद्दाका अर्का फरार बन्दी धरान १४ गणेशचोकका २४ बर्षीय दिपक परियार पनि पक्राउ परेका छन् । उनलाई पनि अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरी हवल्दार गणेश रायको कमाण्डमा खटिएको टोलीले परियारको घरबाट नै नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।