सुनसरी: सुनसरीको कोशी गाउँपालिका( ७ बाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । 

चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाजा बरामद गरेको हो । कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उक्त बरामद गाजाको तौल ६ सय ३७ किलो ४५ ग्राम रहेको पनि प्रहरीले जानकारी दिएको छ । गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।  

यसैगरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोली पनि गाजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा सिराहा लहान नगरपालिका(१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान( ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।