धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निवार्चित साम्पाङले पार्टी खोल्ने घोषणा गत बर्ष नै गरिसकेका थिए । केही महिनादेखि पार्टी दर्ताको कसरत भइरहेपनि प्रस्तावित नाम र चुनाव चिह्न भने गोप्य नै राखिएको थियो । 

आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको निवेदन आएको सुचना बाहिरिएपछि मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै स्वीकार गरेका छन् । उनले पार्टीको नाम श्रम सँस्कृति पार्टी राखिएको र चुनाव चिह्न माटो भएको स्पष्ट पारेका छन् । यद्यपी, चुनाव चिह्न हेरफेर हुनसक्ने पनि बताइएको छ ।

साम्पाङको पार्टी दर्ताको लागि आयोगमा निवेदन मात्र दिएको हो । आयोगमा औपचारिकरुपमा दल दर्ता र चुनाव चिह्न सुनिश्चित हुन अझै केही समय लाग्छ । विभिन्न अनलाइन मिडियाहरुको समाचारमा पार्टीको नाम फरक फरक आएपछि उनले श्रम सँस्कृति पार्टी र चुनाव चिह्न माटो भएको प्रष्टीकरण दिएका छन् ।

केही मिडियाहरुमा पार्टीको नाम राष्ट्रिय श्रम सँस्कृति पार्टी र चुनाव चिह्न माटोको ढिस्को भनेर समाचार आएको थियो । मेयर साम्पाङले प्रष्ट्याउदै भनेका छन्,‘निर्वाचन आयोगले सुचना आउट गरिहालेछ । पार्टीको नाम श्रम सँस्कृति पार्टी हो ! चुनाव चिह्न माटो हो ! भ्रम नर्छन या भ्रमित नहुन अनुरोध ।’

harka party