धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ ।
बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, कमला चेम्जोङ र सीता बिकको परिवार बस्दै आएका थिए ।
आज बिहानै सीता बिक घरमा नभएको बेला उनको कोठाबाट आगो सल्किएको बताइएको छ । उनी पूजापाठ गर्ने गरेको र पूजाको दियो बालेर बिहानै बाहिर गएको बेला आगो सल्किएको अनुमान गरिएको छ । आगलागीबाट घरभित्रको कुनै पनि सामान निकाल्न नसकिएको स्थानीयको भनाई छ । आगलागीकै क्रममा ग्यास सिलिण्डर पनि बिष्फोट भएको थियो ।
धरान उपमहागनरपालिकाको २ वटा दमकल, अग्नी नियन्त्रक, नगर प्रहरी र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा आएपनि घर, सामानहरु पुर्णरुपमा नष्ट भएको छ । आगोको रापले छिमेकी दुई घरमा पनि सामान्य क्षति पुगेको छ । आगलागी भएको घरको क्षतिको पुर्णविवरण आउन भने बाँकी छ ।
वडा ८ का अध्यक्ष धनबहादुर राईले प्रहरी प्रशासनसँग समन्वय गरेर क्षतिको विवरण संकलन गर्ने र पीडित परिवारलाई तत्काल राहत दिलाउन पहल गर्ने बताए । उनले भने,‘चाडपर्वको बेला यस्तो दुःखद घटना भयो । उहाँहरुको केही पनि बेचेको छैन, तत्काल के गर्न सकिन्छ, राहतको लागि जुट्छौं ।’