धरान: केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानको सञ्चालक समितिको ३० औं पुर्ण बैठक शनिबार भइरहदा पदेन सदस्य रहेका स्ववियू सभापति पेशलराज कार्कीले विद्यार्थीहरुको एजेण्डा समावेश नगरिएको भन्दै बहिष्कार गरेका छन् ।
उनले बैठक बहिष्कार गर्नुअघि क्याम्पसको शैक्षिक गुणस्तर एवं विद्यार्थीका सरोकारका गम्भीर बिषयहरु पनि राखेका थिए । उनले क्याम्पसका हरेक गतिविधिहरु पारदर्शी हुनुपर्ने भन्दै सञ्चालक समिति र कार्यकारिणी समितिको बैठक पनि सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्नुपर्ने भन्दै लिखित पत्र नै बुझाएका थिए । सो क्रममा सञ्चालक समिति अध्यक्ष धनबहादुर कार्की र स्ववियू सभापति कार्कीबीच केहीबेर भनाभन र चर्काचर्की पनि परेको थियो ।
कार्की २०८१ चैत ५ गते सम्पन्न भएको निर्वाचनमा स्वतन्त्रबाट स्ववियू सभापतिमा निवार्चित भएका थिए । उनले एमाले र कांग्रेसका विद्यार्थी संगठनको गठबन्धनका उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वारी दिएर पराजित गरेका थिए । निवार्चित भएको लामो समय बितिसक्दा पनि क्याम्पस प्रशासन र सञ्चालक समितिले विद्यार्थीहरुको सरोकारको बिषयमा आफुसँग समन्वय नै नगरेको र बैठकमा एजेण्डा पनि नसमेटेको कार्कीले बताए ।
‘बैठकमा आफ्ना मनमर्जी एजेण्डाबाहेक विद्यार्थीहरुसँग सरोकार भएको एजेण्डा खै ? मैले च्याटग्रुपमा विविध पनि एजेण्डा राख्नुस्, त्यहाँ हामी विद्यार्थीको बिषय राख्छु भन्दा त्यो पनि एजेण्डामा छैन,’ उनले प्रश्न गर्दै भने,‘प्रशासनले जे गर्दा पनि हुने हो ? काठ काण्डमा झुटा साक्षी किन राखियो ? गलत गर्ने कर्मचारीलाई सधै किन बोक्ने ?’

सभापति कार्कीले विभिन्न निकायबाट आएको अनुदान बजेट के कति हो ? क्याम्पसको कुन खातामा कति रकम छ ? जस्तो आर्थिक बिषयलाई पनि पारदर्शीरुपमा जानकारी दिइनुपर्ने माग गरेका छन् । अघिल्लो स्ववियू सभापतिकै पालामा विद्यार्थीहरुको बिषयमा माग पत्र पेश गरेपनि अहिलेसम्म क्याम्पस प्रशासन र सञ्चालक समितिले चासो नदिएको पनि कार्कीको गुनासो थियो । क्याम्पसको आम्दानीको लागि विद्यार्थीको कोटा बढाउने तर विद्यार्थी पास भने ५ जना मात्र भएको भन्दै उनले आक्रोश पनि पाखेका थिए ।
एजेण्डा कार्यकारिणी समितिबाट आउने हो:सञ्चालक समिति अध्यक्ष कार्की
क्याम्पस सञ्चालक समिति अध्यक्ष धनबहादुर कार्कीले सञ्चालक समिति बैठकको एजेण्डा कार्यकारिणी समिति बैठकले तय गर्ने भएकोले सोही प्रक्रियामार्फत आउनुपर्ने बताए । उनले सञ्चालक समितिको बैठकको मिति मात्र अध्यक्षसँग परामर्श लिएर तोकिने र बैठकको एजेण्डाहरु कार्यकारिणी समितिबाट अनुमोदन भएर आउनुपर्ने बताए । कार्यकारिणी समितिको अध्यक्ष क्याम्पस प्रमुख हुने व्यवस्था छ । सञ्चालक समितिको सदस्य सचिव पनि क्याम्पस प्रमुख हुने व्यवस्था छ ।
अध्यक्ष कार्कीले कार्यकारिणी समितिमा आफु (अध्यक्ष)लाई पनि आमन्त्रितरुपमा बोलाउने गरेपनि कार्यकारिणी समितिले हस्तक्षेप भएको महशुस नगरुन् भनेर आफु बैठकमा जान छोडेको पनि उनले खुलाए । ‘स्ववियू सभापतिले प्रक्रियाको कुरा नबुझेर हो । आजको बैठक सञ्चालक समितिको थियो, त्यहाँ विद्यार्थीको एजेण्डा थिएन, तर एजेण्डा कार्यकारिणी समितिमार्फत आउनुपथ्र्यो,’ अध्यक्ष कार्कीले भने,‘स्ववियूका समस्या, विद्यार्थीको समस्या छन् भने क्याम्पस प्रमुख पनि त्यही हुन्छ, प्रशासनमा कुरा राख्नुपथ्र्यो । हाम्रो यो यो एजेण्डा छ भन्नुपथ्र्यो ।’
'रुलिङ गरेको छुँ, नीति कार्यक्रम र बजेट परिमार्जन हुन्छ '

क्याम्पसको शनिबार बसेको ३० औं पुर्ण बैठकमा गत आर्थिक बर्ष २०८१/०८२ को प्रगति समिक्षा, आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम, आर्थिक बर्ष २०८२/०८३ को बजेट अनुमोदन र कार्यकारी समितिको निर्णय अनुमोदन गरि ४ वटा एजेण्डा प्रस्तुत भएको थियो ।
बैठकले ती सबै एजेण्डाहरुलाई अनुमोदन गरेको छ । यद्यपी, सञ्चालक समितिका अध्यक्ष धनबहादुर कार्कीले आफुले विद्यार्थीहरुको एजेण्डा समावेश गरेर नीति तथा कार्यक्रम, बजेटलाई परिमार्जनसहित ल्याउन रुलिङ गरेको बताए ।
‘विद्यार्थीको बिषयमा एजेण्डा थिएन । यसमा विद्यार्थीहरुको आपत्ति छ, विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि के के कार्यक्रमहरु छन् भन्ने कुरा उठेको छ । त्यसमा के गर्ने हो, विद्यार्थीहरुको छात्रवृत्ति, स्वास्थ्य विमाका कुरा, रिसर्चमा सपोर्ट, तालिममा दिने सपोर्ट के के शिर्षकमा कति कति रकम छ, उल्लेख गर्नुस् भनेको छुँ,’ अध्यक्ष कार्कीले भने, ‘दोस्रो कुरा, विद्यार्थीहरुले पटक पटक हाम्रो क्याम्पसले कुन कुन बैंकमा खाता खोलेको छ, वर्तमानमा आर्थिक अवस्था के छ ? भनेर प्रश्न गरिरहेका छन् । आजको मितिसम्ममा कुन कुन बैंकमा कारोबार गरेको छ, कहाँबाट कति बजेट आएको हो, कुन खातामा कति रकम छ, त्यो तयार गर्नुस् भनेर लेखालाई भनेको छुँ ।’
परिमाजिर्तन नीति तथा कार्यक्रम र बजेटलाई स्ववियू सभापति कार्कीको माग वमोजिम क्याम्पस मेनेजमेन्ट कमिटीको फेसबुक पेजमा सम्पुर्ण विवरण अपलोड गर्न पनि निर्देशन दिएको अध्यक्ष कार्कीले जानकारी दिए । यस्तै, विगतमा अघिल्लो स्ववियू सभापति अभिनव गुरागाईले प्रशासन समक्ष राखेको मागहरु के थिए ? ती माग कति पुरा भए, कति बाँकी छन् र किन पुरा गर्न नसकेको भनेर पनि आवश्यक डकुमेन्ट तयार गर्न बैठकमा रुलिङ गरेको अध्यक्ष कार्कीले बताए ।
भिडियो:







