धरान: धरान उपमहानगरपालिकाले पुर्वाधार (सडक) उपयोग सेवा शुल्कको नाममा मोटरसाइकल, स्कुटरसहित निजी हलुवका सवारी साधनको कर संकलन गर्न कर्मचारी खटाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले धरानका वडाहरुमा कर संकलन गर्न कर्मचारीहरु खटाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को विरोध र आलोचना भइरहेको छ । सर्वसाधारण जनतादेखि विभिन्न दलका नेताहरुले विरोध जनाइरहेका छन् । जनतालाई कर माथि कर थोपरेको भन्दै सागर प्रसाई लेख्छन्,‘धरानका जनप्रतिनिधि तपाईहरु कहाँ हुनुहुन्छ ? जनतामाथि मर्दो कर कसले बढायो ? हामीले कर तिरेका छौं, फेरि दोहोरो कर किन ? आजै सार्वजनिक जवाफ देऊ ।’

यस्तै, रास्वपा नेतृ सरिन तामाङले स्थानीय सरकारको यो निर्णय गलत भएकोले सच्याउन अनुरोध पनि गरेका छन् । ‘यो निर्णय स्थानीय सरकारको सरासर गलत छ । यो निर्णय सच्याउन अनुरोध छ । जताततैबाट जनतालाई लुट्ने छुट कुनै तहको सरकारलाई छैन,’ उनले फेसबुकमा लेखेका छन् । यसरी थुप्रैले सामाजिक सञ्जालमा यो करको विरोधमा लेखेका छन् । 

पत्रमा के छ ?

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले कर संकलकहरु रमेशकुमार राई, स्मृती लामा र टिकामाया श्रेष्ठलाई लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्रमा उपमहानगरपालिकाले पुर्वाधार (सडक) उपयोग सेवा शुल्क संकलन गर्न २०८२ कार्तिक २३ गतेदेखि अर्को निर्देशन नभएसम्म वडाहरुबाट शुल्क संकलन गर्ने गरि खटाएको र संकलन भएको शुल्क दैनिकरुपमा राजश्व प्रशासन महाशाखामा दाखिला गर्न भनिएको छ । 

उपमहानगरले तीन जना कर्मचारीलाई वडाहरु तीन समुहमा विभाजन गरेर कर संकलन गर्ने जिम्मेवारी तोकेको पनि छ । उपमहानगरका अनुसार निजी (रातो नम्बर प्लेट) भएका हलुवा सवारी साधन (च वर्ग) को बार्षिक २ हजार रुपैया शुल्क लाग्नेछ भने मोटरसाइकल र स्कुटर निजी (रातो प्लेट) नम्बर प्लेटको बार्षिक २ सय रुपैया कर लाग्नेछ । 

के भन्छ उपमहानगरपालिका ?

धरानका प्रमुख प्रशासकीय अधिकृत चौलागाई नगरसभाले पास गरेको आर्थिक ऐनमा नै पुर्वाधार (सडक) उपयोग सेवा शुल्क लिने उल्लेख भएकोले कानुन सम्मत भएको बताउँछन् । ‘स्थानीय सरकारले लगाउने शुल्क हो, गत बर्ष पनि थियो,’ उनले भने,‘ठेक्का नलागेसम्म कर्मचारी खटाउने हो ।’

आर्थिक महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार पार्किक शुल्क वापत सडकमा ठेकेदारमार्फत मोटरसाइकल र स्कुटरलाई १० रुपैया शुल्क लिदा तीब्र विरोध भएपछि गत आर्थिक बर्षमा उक्त शुल्क खारेज भएको थियो । तर, त्यसको विकल्पमा स्वेच्छाले वडा कार्यालयमा एकमुष्ठ बार्षिक शुल्क तिर्ने व्यवस्था निर्णय कार्यपालिकाले गरेर नगरसभाबाट पारित भएको थियो । तर, गत आर्थिक बर्षमा वडा कार्यालयहरुमा यो शिर्षकको शुल्क (कर) संकलन हुन सकेन ।

यो आर्थिक बर्षमा पनि कार्यपालिका र नगरसभाबाट पारित भएको आर्थिक ऐनमा सोही प्रावधान राखिएको थियो । त्यसैलाई कार्यान्वयन गर्न अहिले वडाहरुमा कर संकलक खटाइएको महाशाखा प्रमुख खतिवडाले बताए । ‘यो नयाँ कर लगाएको होइन, पुरानै हो । परार पार्किक शुल्क लगाउदा विवाद भयो, अनि पोहोर बार्षिक गर्ने भनेर निर्णय भएको थियो तर वडाबाट उठेन,’उनले भने, ‘ठेक्का लगाउने भन्दा पनि कर्मचारीबाट नै उठाउने भनेर खटाइएको हो ।’

खतिवडाका अनुसार निजी (रातो नम्बर प्लेट) भएका हलुवा सवारी साधन (च वर्ग) को शुल्क यो बर्ष घटाइएको छ । पोहोर बार्षिक ४ हजार रुपैया तोकिएकोमा बढी भयो भनेर गुनासो आएपछि यो बर्ष २ हजार मात्र तोकिएको खतिवडाले बताए । मोटरसाइकल र स्कुटरको बार्षिक शुल्क भने साविक अनुसार नै २ सय रहेको छ । ‘यो धरान घुम्न आउने पर्यटकहरुलाई होइन, धरानमा चलिरहने, धरानको रोड प्रयोग गरिरहने गाडीलाई बर्षभरिको उपयोग शुल्क हो,’ खतिवडाले भने । 

notice copy