धरान: द काउन्सिल अफ जेन जीका प्रदेश १ संयोजक उपार्जन राईले भदौ २३ र २४ गतेको जेन जी आन्दोलन के हो भन्ने कुरा आगामी फागुन २१ गतेको चुनावबाट पुष्टि हुने बताएका छन् । 

काउन्सिल अफ जेन जीको प्रदेश १ का जिल्ला संयोजकहरुको धरानमा आयोजित सम्मेललाई प्रमुख अतिथिकोरुपमा मंगलबार सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । उनले कुनै पनि मुलुकमा हुने राजनीतिक जनआन्दोलन पश्चात लोकतान्त्रिक छ भने चुनावमा जाने र सडकमा भएको कुराको सान्दर्भिकता चुनावबाट पुष्टि गर्ने बताए । 

जने जी आन्दोलन पश्चात निर्माण भएको सरकारले चुनाव घोषणा गरेको र त्यसले भदौ २३ र २४ गते के थियो भनेर पुष्टि गर्ने प्रयोगशाला एवं अवसर भएको पनि उनले बताए । आन्दोलन २ दिन भएर सरकार ढलेको भएपनि आन्दोलन हुनुको कारण बर्षाैंदेखिकै भ्रष्टचार, अपरदर्शीता, दण्डहिनता, राज्यको उत्पीडनलगायत भएको राईले बताए । 

कार्तिक २८ गते सरकारलाई जेन जी आन्दोलनको जनादेश संयुक्तरुपमा बुझाएको खुलाउदै राईले केही दिनमा हस्ताक्षर हुने बताए । ‘त्यसपछि हामी यो क्रान्तिको हिस्सेदार वैधानिकरुपमा हुन्छौं । अहिलेसम्म राज्यले आतंककारीको नजरले हेर्ने सुविधा जनादेशमा हस्ताक्षर नभएर पनि होला, क्रान्तिकारी साथीहरु पक्राउ परिरहेका छन्, त्यसपछि यो क्रम रोकिन्छ,’ उनले भने । 

gen z

हस्ताक्षर गरेपछि जेन जीको जनादेशले वैधानिकता पाउने भएपनि चुनाव मार्फत हिजोकै सरकार दोहोरिएमा उक्त सम्झौता उनीहरुको लागि कागज भन्दा बेसी नहुने भन्दै उनले चिन्ता पनि प्रकट गरे । साथै उनले जेन जीहरुले आफ्नै दलबाट चुनावमा जानुपर्ने पनि उनले बताए । 

‘किनभने उनको(केपी ओली) नियत, उनको चरित्रबारे हामी सक्दो जानकार छौं, त्यसले गर्दा म्याण्डेडको कुरा गर्दै गर्दा त्यो सँगै महत्वपुर्ण कुरा चुनाव पनि हो,’ उनले भने,‘अनिवार्यरुपमा दल खोलेरै जानुपर्छ । हिजो कसैलाई विश्वास नगरेरै सडकमा आएको हो, फेरि अरु दलसँग सहकार्य गरेर वा वैकल्पिक उपाय अपनाएर चुनावमा जाने हो भने विश्वासघात हुनसक्छ, त्यसैले आफ्नै दल चाहिन्छ भन्ने महशुस भएको छ ।’

‘भदौ २३ र २४ को जेनजी आन्दोलन ऐतिहासिक क्रान्ति’

gen g

द काउन्सिल अफ जेन जीको प्रदेश १ का जिल्ला संयोजकहरुको सम्मेलनले विभिन्न बुँदामा घोषणा पत्र पनि जारी गरेको छ । सम्मेलनले भदौ २३ र २४ गतेको आन्दोलनलाई ऐतिहासिक परिर्वतन एवं क्रान्तिकोरुपमा स्वीकार गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, नेपालको संविधानप्रति प्रतिवद्धता दोहोर्याउदै निर्वाचनमार्फत आवश्यक सुधार र परिमार्जनको पक्षमा उभिन तयार रहेको पनि उक्त सम्मेलनले घोषणा गरेको सुनसरी जिल्ला संयोजक नविन राईले जानकारी दिए । उनका अनुसार सम्मेलनले छरिएर रहेका विचार मिल्ने सबै जनेजी समूहलाई एकत्रित गर्न जोडदार पहल गर्ने पनि घोषणा गरेको छ । 

यसैगरि, लोकतान्त्रिक मुल्य मान्यता, सुशासन र नागरिक स्वतन्त्रताको सुरक्षाका लागि दृढ प्रतिवद्धता व्यक्त गर्दै राज्यले भयमुक्त वातावरण सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको छ । ‘पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र भ्रष्टचारविरुद्धको राजनीतिक संस्कार संस्थागत गर्न सबै दललाई आह्वान गछौं,’ घोषणा पत्रमा भनिएको छ,‘आसन्न आमनिर्वाचनमा सबै दललाई स्वच्छ र पारदर्शी भई साथै भ्रष्टहरुलाई बहिष्कार गरि सहभागी हुन आह्वान गछौं ।’

भिडियो: