धरान: जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता अपराधिक घटनामा संलग्नहरुलाई सुनसरी प्रहरीले पनि पक्राउ गर्न थालेको छ ।
सुनसरी उद्योग वाणिज्य संघद्धारा आज बुधबार धरानमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यो जानकारी दिएका हुन् । धरानमा जेनजी आन्दोलनको नाममा निजी घर, होटलमा तोडफोड, आगजनी र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिएपनि दर्ता नभएको पीडितहरुले गुनासो गर्दै आएको बेला अहिले भने प्रहरी प्रशासन एक्सनमा उत्रिएको हो ।
प्रजिअ घिमिरेका अनुसार इटहरीबाट ३ जना पक्राउ परिसकेका छन् र धरान, इटहरी, जिल्ला प्रहरीले अन्यको हकमा पनि प्रमाण संकलन र कानुनी आधार तयार गरिरहेकोछ । ‘धरान प्रहरी, इटहरी र जिल्ला प्रहरी प्रमाण संकलन गर्न र कानुनी आधार तयार गर्न लागिपरेका छन् । आजकै दिनमा इटहरीको घटनामा संलग्न ३ जना व्यक्तिहरु पक्राउ परिसकेका छन्,’ उनले भने,‘यो शुरुवात हो, सबै घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कानुनी कारबाही हुन्छ, तपाईहरु ढुक्क हुनुहोला ।’

आन्दोलन, हुलमुल र मुठभेठको सिलसिलामा व्यक्ति वा सार्वज्निक सम्पत्ति क्षति पुर्याउन सहज होला तर कानुनबाट उन्मुक्ति वा छुटकारा कसैले पनि नपाउने प्रजिअ घिमिरेले बताए । ‘जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुलाई आन्दोलन र अपराधिक क्रियाकलापहरुलाई प्रष्ट छुट्याएर आन्दोलनलाई आन्दोलनकै रुपमा हेरिन्छ,’ घिमिरेले भने,‘अपराधिक घटनासँग सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही गरिन्छ । यसमा कुनै द्धिविधा नराख्नुहोला ।’
जेनजी आन्दोलनले उठाएको सुशासन, जवाफदेहिता, पारदर्शिता जस्ता सवालहरु जायज भएपनि आजगनी, तोडफोडबाट भएको क्षति विर्सनलायक रहेको प्रजिअ घिमिरेको भनाई थियो । मुलुकको प्रधानमन्त्री, मन्त्रीहरु नै ज्यान जोगाउन भाग्नुपर्ने बिषम परिस्थिति बनेकोले अब फेरि यस्तो हुदैन भन्ने मानेर अघि बढ्नु नै उचित हुने पनि घिमिरेले धारणा राखे ।

व्यवसायिक सुरक्षालाई प्राथमिकता राखेको खुलाउदै उनले हप्ता असुली, गुण्डागर्दी जस्ता अपराधिक गतिविधि भए सुचना दिन आग्रह पनि गरे । ‘तपाईहरु डराउनुहुदैन, त्यस्तालाई कानुनी कठघरामा उभ्याइएन भने पल्केको पल्केकै हुन्छन्,’ उनले भने । घिमिरेले फागुन २१ गतेको चुनावलाई भयरहित, शान्तिपुर्ण र निष्पक्ष बनाउन सबैको सहयोग, समन्वय र सद्भाव जरुरी रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धरानका प्रमुख एवं एसएसपी ज्ञानेन्द्र फुँयाल, आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख मौषम पौडेल, सुनसरीका प्रहरी प्रमुख एवं एसपी केशवकुमार थेवे, संघको पुर्वअध्यक्ष सरोज श्रेष्ठ र सुनसरी प्रशासनबाट विदाई भएका सहायक प्रजिअ लोकमान श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए । अन्तरक्रियामा व्यवसायीहरुले व्यवसायिक समस्या र समाधानको बिषयमा प्रश्न गरेका थिए । संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।
भिडियो:







