धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भारतको बालाजी विद्यापिट विश्वविद्यालयबीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा र श्री बालाजी विद्यापिठ विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. श्रीनिवासनले हस्ताक्षर गरेका थिए । साथै, सो समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट डीन प्रा.डा. शिवेन्द्र झा र विद्यापिठका तर्फबाट प्रा.डा. एम. शिवाशक्तिले हस्ताक्षर गरेका थिए । बालाजी विद्यापिठ भारतको केन्द्रशासित पोंडीचेरी प्रदेशमा रहेको छ । 

चिकित्सा शिक्षाका दुई शिक्षण संस्थाहरुबीच शैक्षिक सहयोग, साँस्कृतिक आदानप्रदान, पारस्परिक समृद्धिका लागि सहयोगी गतिविधिहरु सञ्चालन गर्ने, शिक्षक तथा विद्यार्थीहरु आदनप्रदान गर्ने समझदारी भएको छ ।

bpkihs mou1

यस्तै, संयुक्तरुपमा अनुसन्धान परियोजनाहरु सञ्चालन गर्नुका साथै अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नविनतालाई साझा मुल्य मान्यता बनाई प्रवर्धन गर्ने, निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त समझदारी गरिएको र यसबाट दुवै संस्थाहरु लाभान्वित हुने विश्वास लिएको विपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् । 

प्रतिष्ठानको उपकुलपति कार्यालयको बैठक कक्षमा आज (सोमबार) भएको हस्ताक्षर कार्यक्रममा विपी प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह तथा एनाटोमी विभागका एडिसनल प्रोफेसर डा. संदिप साहको उपस्थिति रहेको थियो । यस्तै, श्री बालाजी विद्यापिठ विश्वविद्यालयका तर्फबाट इन्स्टिच्युट आफ हेल्थ प्रोफेसन एजुकेसन (IHPE) की निर्देशक प्रा.डा. एम. शिवाशक्तिको उपस्थिति रहेको थियो । साथै, सो विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. एन. आर. विश्वासलगायत अन्य पदाधिकारीहरु भर्चुअल रुपमा उपस्थित रहेको प्रवक्ता प्रा.डा.प्रधानले जानकारी दिइन् ।