धरान: विगतमा विश्वक्रान्ति उपनामले चिनिएका श्रम सँस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा बम विष्फोटको घटनामा पक्राउ परेका छन् । 

संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेको बेला काठमाण्डौंसहित देशको विभिन्न स्थानमा बम बिष्फोट गराएको अभियोग लामालाई रहेको छ । २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा बम बिष्फोट हुँदा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । पाँचथरमा एक जनाको ज्यान जाने गरि भएको घटनामा पनि उनी मुछिएका थिए । तत्कालिन समयमा यो संगठनले भुमिगत रहेर हिंसात्मक गतिविधिहरु गरिरहेको थियो । 

विगतमा पक्राउ परेर जेल चलान भएपनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि २०७६ फागुन ७ गते लामा छुटेको बताइएको छ । पछिल्लो समय पाचथरमा एक वालिकाको ज्यान जाने गरि भएको बम बिष्फोट घटनामा उनी पक्राउ परेको बताईएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई हिजै पाचथर पठाईसकेको छ। पछिल्लो समय धरानका मेयर हर्क साम्पाङ नेतृत्वका श्रम सँस्कृति पार्टीले उनलाई उपाध्यक्ष बनाएपछि लामा प्रहरीको नजरमा परेका हुन् । उनी संगठन विस्तारको लागि विभिन्न जिल्ला पुगिरहेका थिए । 

पार्टीबाट निलम्बन

harka

केन्द्रीय उपाध्यक्ष ज्यान मुद्दा जस्तो गम्भीर अभियोगमा पक्राउ परेपछि पार्टीले निलम्बन गर्ने भएको छ । पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म पार्टीको पदबाट निलम्बन गर्ने बताएका छन् ।

उनले निष्पक्ष छानबिन गर्न माग गर्दै दोषी पाइएको हदसम्म लामालाई कारबाही गर्न पनि आग्रह गरे । तर, जेल भुक्तान भइसकेको र २०७९ मा चुनाव पनि लडेको भन्ने बुझिएको भन्दै निर्दोष भए दुःख नदिन पनि आग्रह गरे । 

‘दोषी भएको हदसम्म कारबाही हुनुपर्छ, तर निर्दोष छ भने त्यसरी दुःख दिन पाइदैन,’उनले भने, ‘श्रमसँस्कृतिको लोकप्रियता बढेको भनेर राजनीतिक प्रतिशोतको गन्ध आउने गरि गतिविधि हो भने भत्र्सना गर्नुपर्छ ।’

यद्यपी उनले लामा निर्दोष भएर बाहिर ननिस्केसम्म पार्टीको पदबाट निलम्बन गरेको बताएका छन् । ‘हामी राज्यले गर्ने अनुसन्धानलाई कुनै किसिमको दबाब र प्रभाव पार्ने छैनौं । यो हो श्रम सँस्कृति । अरुजस्तो विभिन्न खालको घोटला, काण्डमा मुछिएर पदमै बसिरहने भन्ने हाम्रोमा हुदैन,’ उनले भने,‘आजैको दिनदेखि निलम्बन गरिएको छ । दोषी करार हुनुभयो भने पदबाट मुक्त हुनुहुन्छ, निर्दोष भएर आउनुभयो भने उहाँलाई पुनः स्वागत गर्नेछौं ।’