विराटनगर: विरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सुचना पाएपछि मोरङमा प्रहरीले हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ भने ठुलो परिमाणमा गाँजा पनि वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले आइतबार राती एम्बुलेन्समा गाँजा वरामद गरेको हो । प्रहरीका अनुसार एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद भएको छ । त्यसक्रममा हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको पनि मोरङ प्रहरीको भनाई छ ।
मोरङकी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार विशेष सूचनाको आधारमा आइतबार राती केराबारी गाउँपालिका ५ लाफा टोलस्थित सडकमा प्रहरी टोली चेकजाँचमा खटिएको थियो । राती करिब ११ बजे प्रहरी देखेपछि प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्स छोडेर मानिसहरु भाग्न खोजेका थिए ।
उनीहरु खोज्ने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरीगढी-२ का खगेन्द्र लिम्बु रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स सुर्यबहादुर थापा प्रतिष्ठान खाल्सा छिन्ताङ शहिद भुमी गाउँपालिका १ धनकुटाबाट सञ्चालित रहेको पनि मोरङ प्रहरीले जानकारी दिएको छ।
एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई राखेको ५ सय २१ किलोग्राम गाँजा पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।







