धरान: जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला कमिटी घोषणा गरिएको छ ।
धरानको भानुचोकमा शनिबार आयोजित घोषणा सभाबाट रामकुमार (युमने हाङ) राईको अध्यक्षतामा सुनसरी जिल्ला कमिटी घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा सुनबहादुर राई र लोकबहादुर राई, सचिवमा शिवराज जिमी, सहसचिवमा तारा श्रेष्ठ, कोषध्यक्षमा पुष्पकला शेर्मा र सहकोषाध्यक्षमा रोशन राई रहेका छन् ।
यस्तै, सदस्यहरुमा विशाल राई, दीपा राई, सनम लिम्बु, गुणाराज खड्का, रमेश भुजेल, रुपना राई, प्रविका वान्तवा राई, रितु राई, सुमना लिम्बु, टिका कठायत, सीमा राई रहेका छन् ।
जेन जीको माग पुरा गर्न पार्टी खोल्यौं: अध्यक्ष पोर्तेल

चुनाव चिह्न बाँसुरी रहेको राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलले जेन जी युवाहरुको माग पुरा गर्नको लागि पार्टी खोल्नु परेको बताए । उनी जेन जी आन्दोलनका घाइते हुन् । आन्दोलनको क्रममा उनको एउटा खुट्टा गुमेको छ ।
जेन जी आन्दोलनपछि उदाएका वैकल्पिक शक्तिहरुबीच एकता हुनुपर्ने सम्पुर्ण घाइतेहरुको अपेक्षा पुरा नभएको र चुनावबाट पुरानै राजनीतिक दलहरु सत्ता, शक्तिमा आउने सम्भावना बढेकोले आफुले पार्टी खोल्नुपरेको अध्यक्ष पोर्तेलले बताए । जेन जीहरुको माग अहिलेको अन्तरिम सरकारबाट पनि पुरा नभएको उनले बताए ।

‘अब हामी युवाहरुको माग पुरा गर्न युवाहरु नै राजनीतिमा आउनुपर्ने रहेछ भनेर पार्टी खोलेका हौं,’ उनले भने,‘युवाहरुको माग सुशासन हुनुपर्छ, भ्रष्टचारको अन्त्य गरिनुपर्छ भन्ने हो । अन्तरिम सरकारबाट पुरा भएन । अब फेरि पुरानै पार्टीहरु चुनावबाट आयो भने त झन् कहाँ हाम्रो माग पुरा होला ? त्यही भएर जेनजीहरु एक ठाउँमा हुनुपर्छ भनेर पार्टी खोलेको हो ।’
उनले नयाँ शक्तिहरु एकजुट नभएकोमा पनि चिन्ता प्रकट गरे । ‘हामीलाई उदाउदो शक्तिप्रति आशा थियो, तर मिल्न नसक्ने भए । कोही जातीवादी पार्टी, कोही लुसिफर, केही सहकारी ठगी, कोही एमसिसि भए,’ उनले भने,‘त्यसैले युवाहरु आफैले पार्टी खोल्नुपर्यो । राजनीति फोहोरी खेल होइन, युवाहरुले नै गर्ने हो । युवाहरुलाई देशको माया छ ।’
भ्रष्ट र आन्दोलन दमन गर्नेलाई कालकोठरीमा थुन्ने मन छ: पुर्वआइजिपी

नेपाल प्रहरीका पुर्वआइजिपी तथा समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले भ्रष्ट नेताहरु र जेनजी आन्दोलनमा चरम दमन गर्र्नेहरुलाई कालकोठरीमा थुन्न मन भएको बताएका छन् ।
राष्ट्रिय परिवर्तन पार्टीको शनिबार धरानमा आयोजित सुनसरी जिल्ला घोषणासभालाई बिशिष्ट अतिथिकोरुपमा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । ‘यो देश एक पटक हाँकेर यिनीहरुलाई दमन गर्ने, भ्रष्टचार गर्ने, दलाली गर्नेदेखि विदेशी इशारामा नाच्नेहरुलाई कालकोठरीमा राख्ने मन छ, रहर छ’ उनले भने ।
खनालले पुराना दल र तिनका नेताहरुले देशप्रति इमान्दारिता नदेखाएको भन्दै नयाँ भनिएकाहरु पनि सत्ताको लागि गठजोड गरिरहेको आरोप लगाए । पुराना र नयाँ भनिएका दलहरु समेत विदेशीको इशारामा चलिरहेको खनालको दाबी थियो ।

‘आज पनि गठबन्धन गरेर देश लुट्नकै लागि कोठा कोठाभित्र सौदाबाजी भइरहेकोछ,’ उनले भने, ‘जेन जी आन्दोलन हुँदा आउनुस् न नेतृत्व लिन भन्दा कहाँ थियौं ? जेनजी भाइबहिनीहरुले अनाहकमा मृत्युवरण गर्नुपर्यो, त्यो पीडा छैन, प्रधानमन्त्री चाहिएको छ नयाँलाई पनि ।’
देश अब युवाहरुले नै हाँक्नुपर्ने धारणा राख्दै उनले जेनजीहरुले चुनाव भोट दिदा एकढिक्का भएर परिवर्तनको लागि हाल्न पनि आग्रह गरे । जेनजीहरुले भ्रष्टचार निर्मुंल गर्न र विदेशी दलाल अन्त्य गर्न आन्दोलन गरेको उल्लेख गर्दै खनालले कसैलाई प्रधानमन्त्री बनाउन नभएको पनि बताए ।
सभामा पार्टीका केन्द्रीय प्रवक्ता ओसन दुङ्बोछाले पार्टीको एजेण्डाहरुबारे जानकारी गराएका थिए । सभालाई नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले धरानका उपाध्यक्ष पारस काङमाङ, उज्यालो नेपालका अध्यक्ष अमित थेवे, धनकुटाका अभियन्ता लाक्पा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए ।
भिडियो:
भिडियो:
भिडियो:







