धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको बैठकले विशेष महाधिवेशन आयोजना हुनैपर्ने निर्णय गरेको छ । 

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको उक्त बैठकले बिशेष महाधिवेशनमा सहभागिता जनाउने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसको संस्थापन (सभापति देउवा) पक्षले नियमित अधिवेशन निस्तेज पार्दै विशेष महाधिवेशन पनि नगर्ने तयारी गरिरहेका सुनसरी १ का प्रतिनिधि तथा महासमिति सदस्यहरुले यस्तो निर्णय गरेका हुन् । 

बहुमत महाधिवेशन प्रतिनिधिहरुको भावना र विधान माथि अलोकतान्त्रिक खेलवाड भएको जिकिर गर्दै सभापति तामाङले पुस मसान्तभित्रै विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने र उक्त विशेष महाधिवेशनमा सुनसरी क्षेत्र नं. १ वाट सहभागिता जनाउने निर्णय गरेको बताए ।

गत भदौं २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको आन्दोलनले उठाएको सुशासन, भ्रष्टचारको अन्त्य र वाक स्वतन्त्रताको मुख्य माग सहितका शासकिय सुधारका मागहरुलाई विश्वासिलो ढंगले अपनत्व ग्रहण गर्नुपर्ने पनि बैठकको निष्कर्ष रहेको क्षेत्रीय सभापति तामाङले बताए । 

बैठकले विगतका निर्वाचनहरुमा पार्टीले अन्य दलसंग गठबन्धन गरी फरक फरक चुनाव चिन्हमा फरक दलका उम्मेदवारलाई मतदान गर्नुपर्दा मतदाता र कार्यकर्तामा निराशा छाएको र संगठनमा समेत प्रतिकुल असर परेको भन्दै आगामी निर्वाचनमा कुनैपनि दलसंग गठबन्धन नगर्ने निर्णय गरेको पनि उनले बताए । 

congress

त्यसैगरी पार्टीले भर्खरै पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचिमा पटक पटक सांसद र मन्त्री भएका तथा निरन्तर अवसर पाएकाहरुले नै प्राथमिकता पाएकोप्रति असन्तुष्टि प्रकट गर्दै बन्दसूचि संशोधन गरी पार्टीमा कहिल्यै अवसर नपाएका, निरन्तर त्याग र योगदान गर्दै आएकाहरुलाई प्राथमिकताका साथ अवसर प्रदान गर्न तथा सुनसरी क्षेत्र नं. १ को हकमा पार्टीको नीति र सिफारिस गरिएबमोजिम उम्मेदवार छनौट गर्न माग गर्ने समेत निर्णय भएको उनले बताए ।

बैठकमा कोशी प्रदेश महामन्त्री एवम् महासमिति सदस्य उमेश थापा, महासमिति सदस्यहरु चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राई, सुवास राई, श्यामा रेग्मी र जगतबहादुर कार्की तथा महाधिवेशन प्रतिनिधिहरु चन्द्र शेखर लामा, सन्दिप श्रेष्ठ, विकास आचार्य, ललिता शर्मा अधिकारी, दिपेशजंग बस्नेत र पुजा धामीले आफ्ना विचार राखेका थिए ।

त्यसैगरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारीप्रसाद भट्टराई, धरान नगर सभापति श्याम पोखरेल लगायतले पनि आप्mना धारणा राखेका थिए ।

बैठकमा कोशी प्रदेश सदस्य एवम् महासमिति सदस्य सन्तोष वि.क., महासमिति सदस्य कृष्णकला मादेन, महाधिवेशन प्रतिनिधिद्धय निलकुमारी गिरी थापा र रवि राई, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई (प्रविन), क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई लगायतको समेत उपस्थिति रहेको थियो ।

नीति र नेतृत्व परिवर्तनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले आम निर्वाचन अगावै नियमित महाधिवेशन गर्न वा विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन गर्न गरेको मागलाई वेवास्ता गर्दै २०८२ पुस २६–२८ मा गर्ने भनि तोकिएको नियमित महाधिवेशन पनि नगरी २०८३ बैशाख २८–३१ मा गर्ने नयाँ मिति कांग्रेसले तोकेको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने बिशेष महाधिवेशन गर्ने तयारीमा जुटेका छन् ।