धरान: नेपालमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुको कुम्भ अर्थात अल नेपाल मेडिकल कलेज मिट, साइन्याप्स २०२६ आगामी माघ महिनामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । 

आयोजक प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजले सोमबार पत्रकार सम्मेलन गरेर माघ १६ गतेदेखि २३ गते (जनवरी ३१ देखि फेव्रअरी ६) सम्म साइन्याप्स २०२६ कार्यक्रम हुने जानकारी दिएको हो । मेडिकल कलेजका विद्यार्थीहरुबीच सहकार्य, समन्वय एवं भाइचारा बढाउने साइन्याप्स कार्यक्रम ८ बर्षपछि हुन लागेको हो । साइन्याप्स कार्यक्रम प्रत्येक २ बर्षमा आयोजना हुने गथ्र्यो । 

कार्यक्रमको आयोजक प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाज हो भने संयोजक प्रज्वलबिक्रम खाँड रहेका छन् । संयोजक खाँडका अनुसार नेपाल भरिका २५ देखि २८ वटा मेडिकल कलेजका विद्यार्थी, डाक्टर, प्यारामेडिक्स सबै भाग लिन पाउनेछन् । आठ बर्षपछि पुर्नजिवित भएको, सबै मेडिकल कलेज र विद्यार्थीहरु जोड्ने एवं मानसिक स्वस्थ्य, शारीरिक स्वास्थ्यलाई पनि जोडेर त्यसैअनुसार थिम रिभाइभ (पुर्नजिवन), रिएनास्टोमस् (जोड्ने) एण्ड रिसिलेनस (सहनशिलता) रहेको पनि उनले बताए । 

यो कार्यक्रममा खेलकुद, कला र साहित्यलाई जोड्ने प्रयास भएको पनि संयोजक खाँडले बताए । खेलकुदअन्तर्गत फुटबल, फुटसल, क्रिकेट, बास्केटवल, भलिवल, एथलेटिक्स, जिम स्पोट्र्सलगायत आयोजना हुनेछ भने कला र साहित्यतर्फ क्विज, पेन्टिङ, कविता, स्टोरी राइटिङ, स्पेलिङ बि, डिबेट कम्पिटिसन, फोटोग्राफीजस्ता विधाहरु हुनेछ । 

बिशेष कार्यक्रमअन्तर्गत उद्घाटनको दिन वाकाथन हुने पनि उनले बताए । जिरोपोइन्टदेखि विपी प्रतिष्ठानसम्म हुने उक्त वाकाथनमा १२ सय बढी सहभागी हुने अनुमान गरिएको पनि उनले बताए । 

synapse

हरेक साँझ साँस्कृतिक कार्यक्रम हुनेछ भने वृहत रक्तदान कार्यक्रम र अन्तिम दिन डान्सपार्टीसहित सांगीतिक कार्यक्रम पनि हुने संयोजक खाँडले बताए । सांगीतिक कार्यक्रममा जोन चाम्लिङ, पुर्ण राईको प्रस्तुतीको लागि कुराकानी भइरहेको पनि उनले खुलाए । 

'देशभरका मेडिकल कलेजलाई पुर्वीक्षेत्रका कलेजसँग जोड्नको लागि, बौद्धिक कलात्मक, शारिरिक तथा साँस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्न, सास्ँकृतिक साँझमार्फत साँस्कृतिक विविधता र अभिव्यक्ति विकास गर्ने उद्देश्य रहेको छ,' उनले साइन्याप्स आयोजना गर्नुको कारणबारे भने,'पुर्वी भेगमा रहेको मेडिकल टुरिज्मको प्रर्वद्धन र विकास होस् भन्ने छ ।' 

आयोजक विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराज कुमार देवले अन्य कार्यक्रमहरुमा सहभागी हुँदा साइन्प्याप्स कहिले शुरु हुन्छ भनेर विभिन्न कलेजका विद्यार्थी, डाक्टरहरुले सोधिरहेको कारण पनि यसपाली आयोजना गर्न प्रेरित गरेको बताए । उनका अनुसार मैत्रीपुर्ण खेलकोरुपमा आयोजना भएके हुनाले खेल प्रतियोगिताहरुमा विजेतालाई नगद पुरस्कार राखिएको छैन । विजेताहरुलाई मेडल, ट्रफी दिइने पनि उनले प्रष्ट पारे । 

'फरक फरक विधामा च्याम्पियन बन्छ, हरेक खेलको अंक राखिएको हुन्छ । सबैभन्दा बढी अंक ल्याउने कलेजलाई कलेज अफ दि साइन्याप्स २०२६ घोषणा गरेर ट्रफी दिइनेछ,' अध्यक्ष देवले भने । 

कार्यक्रम आयोजना गर्न कुल ७३ लाख १६ हजार ८० रुपैया खर्चको लागत अनुमान गरिएको पनि अध्यक्ष देवले जानकारी दिए । उक्त खर्च विपी प्रतिष्ठान, दर्ता शुल्क, विभिन्न व्यवसायिक प्रतिष्ठान, कम्पनीहरुबाट प्रायोजन एवं सहयोगबाट जुट्ने पनि अध्यक्ष देवले बताए । उनले भने, 'यो प्रोपोजल विपी प्रतिष्ठानबाट स्वीकृत भएपछि प्रतिष्ठानकै डोमिनबाट प्रयोग भएको मेलबाट एकद्धार प्रणालीमार्फत एउटै एकाउण्टमा पैसा आउनुपर्ने हुन्छ । यसले पारदर्शीता पनि गराउछ ।' 

भिडियो: