धरान: नेकपा एमालेबाट सुनसरी क्षेत्र नं १ मा सुर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । 

उम्मेद्वार टुंगो लगाउन शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुनसरी १ मा पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । शिक्षण पेशबाट अवकाश पाएका पन्धाक एमालेको कोशी प्रदेश कमिटी सदस्य हुन् । उनी धरान निवासी हुन् । 

राजनीतिमा लामो समयदेखि भएपनि पन्धाक अवसर नखोज्ने नेतामा पर्छन् । एमालेका नेता, कार्यकर्ताहरु माझ उनी बौद्धिक, इमान्दार, भद्र एवं सालिन व्यक्तिकोरुपमा परिचित छन् । 

धरानसमेत भएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीले वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई उम्मेदवार बनाउने लगभग पक्का छ भने श्रम सँस्कृति पार्टीबाट केन्द्रीय अध्यक्ष एवं धरानका मेयर हर्कराज राई (साम्पाङ) उम्मेद्वार हुने घोषणा गरिसकेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले उम्मेद्वार टुंगो लगाउन बाँकी छ । 

यही क्षेत्रमा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पुर्वमन्त्री सुदन किराती उम्मेद्वार हुने चर्चा छ । उज्यालो नेपाल पार्टीका जेन्टल लावती, नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठले पनि उम्मेद्वारी दिदैछन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट एमालेको समर्थनमा जसपाका नेता अशोककुमार राईले जित हासिल गरेका थिए ।