धरान: फागुन २१ गतेको निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता गर्ने दिन नजिकिएपछि निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं १ को लागि धरान सभागृहमा स्थापना भएको कार्यालयले आइतबार सर्वदलीय बैठक गरेको हो । उक्त बैठकमा निर्वाचन कार्यक्रमलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, प्रशासनिक एवं सुरक्षा निकायहरुले प्रतिवद्धता जनाएका छन् ।
यस्तै, नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार निर्वाचन आचारसंहिता २०८२ को सबैले पुर्णरुपमा पालना गर्ने, गराउने प्रतिवद्धता पनि सबै दलहरुले बैठकमा व्यक्त गरेका छन् । ।

‘निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न सबैले निर्वाचन आयोग ऐन २०७३ अनुसार प्रतिवद्ध भई कार्य गर्ने निर्णय गरियो,’ बैठकको निर्णय सुनाउदै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले भने ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाच्न निर्देशिका २०८२ को संशोधनसहितको व्यवस्थालाई पुर्णरुपमा परिपालना गर्ने, गराउने साथै निर्वाचन उम्मेदवार हुन पाउने योग्यता पुगेको व्यक्तिले निर्वाचन कार्यक्रमको सुचनमा उल्लेखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने, गराउनेबारे पनि निर्वाचन अधिकृत घिमिरेले जानकारी गराएका थिए ।

सोही बैठकमा माघ ६ गते उम्मेद्वारी मनोनयन दर्ता गर्न एकै समय पुग्दा भिड हुने भएकोले असहज वातावरण हुन नदिन राजनीतिक दलहरुले दर्ताको समय पनि लिएका छन् । मनोनयन दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । निर्वाचन अधिकृत घिमिरेले ५ बजेभित्र मनोनयन दर्ताको लागि कार्यालयमा प्रवेश गरेकाहरुको उम्मेद्वारी दर्ता गरिने जानकारी दिए । साथै उनले मनोनयन दर्ता गर्न उम्मेद्वारसँगै प्रस्तावक र समर्थक मात्र कार्यालयमा प्रवेश गर्न पाउने पनि प्रष्ट पारेका थिए ।
भिडियो:







