धरान: पाँच जनाको ज्यान जाने गरि आइतबार धरान १३ जिरोप्वाइन्टमा भएको बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार भेडेटार पुगेर फर्कने क्रममा जिरोप्वाइन्ट आइनपुग्दै बस ब्रेक फेल भएको जानकारी चालकले बसभित्र रहेका मानिसहरुलाई गराएका थिए । ‘ओरालो झर्दैगर्दा ब्रेकफेल भएछ । ड्राइभरले बसभित्रका सबैलाई स्टेन समात्नु, आड लिनु भनेछ,’घाइतेहरुको भनाई उदृत गर्दै डिएसपी राईले भने,‘जति ओरालो आयो, त्यति स्पिड भयो, हामी चिच्यायौं । तर, दुःखद् दुर्घटना भएको रहेछ ।’

डिएसपी राईका अनुसार टाइम्स इन्टरनेशनल एकेडेमी जनकपुरले को १ ख ७११९ नम्बरको बस इटहरीस्थित यातायात कार्यालयमा पास गर्न आएको थियो । बस पास गरिसकेर घुम्न जाने योजना अनुसार उनीहरु भेडेटारतर्फ गएका थिए । भेडेटारतर्फबाट खाजा खाएर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । 

एकेडेमीका सञ्चालक धौरिय कुमार यादव र रोहित मण्डल हुन् । उनीहरु पनि बसमा सवार थिए । दुर्घटनामा यादवको पनि मृत्यु भएको छ । बसमा सवार सबै सञ्चालकहरुकै आफन्तजनहरु भएको पनि डिएसपी राईले जानकारी दिए ।