धरान: धरान उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पाएका छन् । 

कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले वडाअध्यक्ष भट्टराईलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकमा बेघाले उपमहानगरपालिकाबाट भए गरेका काम कारबाहीहरु सञ्चारमाध्यम तथा आम नगरबासीहरु समक्ष प्रवाह गर्न भन्दै भट्टराईलाई प्रवक्ता तोक्ने एजेण्डा पेश गरेका थिए । उक्त एजेण्डा सर्वसम्मत पारित भएको थियो । 

यसअघि वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई प्रवक्ता तोकिएको थियो । उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिन राजिनामा दिएपछि प्रवक्ता पनि रिक्त रहेको थियो । वडाअध्यक्ष भट्टराईले आफुले पाएको जिम्मेवारी इमान्दारितापुर्वक निवार्ह गर्ने, सुचना एवं मिडिया मैत्री नगर बनाउने र सहकार्य गर्ने बताए । 

वडा नं ३ साँस्कृतिक वडा घोषणा

धरानको वडा नं ३ लाई साँस्कृतिक वडा घोषणा गर्ने निर्णय गरिएको छ । वडा नं ३ मा विभिन्न जातजाति, धर्म, सँस्कृति भएका चाडपर्व मनाउने मानिसहरु बसोबास गर्ने, साँस्कृतिक पर्वहरु आयोजना हुदै आएको भन्दै वडा कार्यालयबाट सिफारिश आए वमोजिम कार्यपालिकाले घोषणा गर्ने निर्णय गरेको हो । 

वडा नं ३ आधुनिक धरानको मानव वस्तीको शुरुवात भएको ऐतिहासिक ठाउँ पनि हो । चन्द्र सम्सेरको पालामा यही बस्ती बसाएको हुनाले चन्द्रपुर बजार नामकरण भएको थियो । नेवारी समुदायको बढी बसोबास भएपनि यहाँ विभिन्न जातजाति, धर्म, भाषाभाषीहरुको बसोबास रहेको छ ।