धरान: फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना उम्मेद्वारको निर्वाचन परिचालन सचिवालय स्थापना गरेको छ । 

नेकपाले आफ्ना उम्मेद्वारलाई जिताउन गठन गरेको परिचालन समितिको सचिावलय धरान ३ स्थित सदन रोडमा स्थापना गरेको हो । सोमबार उक्त कार्यालयको कोशी प्रदेशका पुर्वमुख्यमन्त्री एवं नेकपाका प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले रिबन काटेर उद्घाटन गरेका थिए । सुनसरी १ मा नेकपाले सुर्यबहादुर भट्टराई (मनोज)लाई उम्मेद्वार बनाएको छ । 

पुर्वमुख्यमन्त्री राईले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार विकास तथा सुकुम्बासी समस्यालाई समान गर्ने बिषयलाई प्रथामिकता दिइने बताए । विगतका अधुरा योजना एवं प्रतिवद्धताहरुलाई भट्टराईले पुरा गर्ने पनि उनको भनाई थियो । 

यस्तै, निर्वाचन परिचालन समिनितका संयोजक एवं सविधानसभा सदस्य किरण राईले पार्टीले उठाएको उम्मेद्वार भट्टराई अनुभवी र सक्षम भएको जिकिर गरे । उनले मुलुकलाई संकटबाट नेकपाले र धरान एवं सुनसरी १ लाई समस्याबाट मुक्त गर्न उम्मेद्वार भट्टराईले मात्र सम्भव हुने भएकोले चुनाव चिह्न तारामा मतदान गर्न पनि आह्वान गरे । 

उम्मेद्वार भट्टराईले धरानको विगतको खस्किएको साखलाई पुनः फर्काउन पनि आफुले उम्मेद्वारी दिएको बताए । धरान शैक्षिक, विकास, खेलकुद, व्यापारलगायत हरेक क्षेत्रमा पछि परिरहेको र सामाजिक सद्भावमा पनि खलल हुने जोखिम बढेको भन्दै उनले एकताबद्ध गर्न र विकासको लयमा फर्काउन पनि आफ्नो उम्मेद्वारी भएको उनले बताए । 'धरान सबै जातजाति, भाषा, धर्म र समुदाय मिलेर बसेका छन्, कसैले खलल पुर्याउन खोजेपनि अब धराने जनताले त्यस्तालाई अस्वीकार गर्नेछ,' उनले भने । 

manoj bhatrai 1

सुनसरी १ मा उत्तरी क्षेत्रबाट मात्र उम्मेद्वार आएको भन्ने गुनासो दक्षिणी जनताको सधै रहेको उल्लेख गर्दे उनले ती क्षेत्रलाई पनि विकासको मुलप्रवाहमा आफुले जोड्ने पनि बताए । यस्तै, निर्वाचन जितेर गएपछि जनप्रतिनिधिहरु फर्केर नआउने गुनासोलाई आफुले आउन नदिने साथै दिएको भोट खेर गयो भन्ने परिस्थिति पनि नबनाउने उनको भनाई थियो । 'म यही जन्मे, यही हुर्केर यो अवस्थामा छ, आज पनि यही रहनेछु, भोली पनि यही र मरेपछि पनि यहीको माटोमा समर्पित हुनेछ,' भट्टराईले भने । 

उनले सुनसरी १ को दुर्गम क्षेत्रलाई नडाह–धरान, कालापानी–भल्लोचौर–विष्णुपादुका–धरान तथा पञ्चायन–हरियाली सडक खण्डलाई पुर्णता दिएर सडक सञ्जालले विकासको प्रवाहमा जोड्ने बताए । विष्णुपादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादन प्रर्वद्धन तथा बजारीकरणमा ध्यान दिने पनि बताए ।