धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुर्णरुपमा डिजिटलाइज (प्रविधियुक्त) बनाइएको छ । 

बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले सोमबार बोर्डको एप्स र वेभसाइट सार्वजनिक गर्नुका साथै डिजिटल सेवा पनि शुभारम्भ गरेका थिए । अब उपभोक्ताहरुले खानेपानी बोर्डको सम्पुर्ण सेवा घरमा वा जहीबाट भएपनि पाउन सक्नेछन् । 

‘उपभोक्ताहरुले घरैमा बसेर खानेपानी बोर्डबाट प्रदान हुने सम्पुर्ण सेवाहरु लिनसक्नु हुनेछ,’ सेवा प्रारम्भ गर्दै बोर्ड अध्यक्ष बेघाले भने,‘यसका साथै मिटर बिग्रेको, पानी लिकेज भएको साथै सेवा प्रवाहमा भएको समस्या पनि जानकारी गराउनसक्नुहुनेछ ।’

बोर्डका अनुसार मोवाइलको एप स्टोरबाट धरान खानेपानीको एप्लिकेशन डाउनलोड गरेर आफुले प्रयोग गरेको पानीको विवरण, तिरेको रकमलगायत बोर्डको समाचारहरु पनि प्राप्त गर्न सकिनेछ । ‘मान्छे नै आफै उपस्थिति हुनैपर्नेबाहेकका सबै सेवा र सुचनाहरु लिनसक्नुहुनेछ,’ उनले भने । खानेपानी बोर्डका सम्पुर्ण सुचनाहरु पनि अब वेभसाइटमार्फत पारदर्शी र सार्वजनिक गरिने बेघाले बताए ।

‘बोर्डको शुरुदेखिकै अडिट भएको छैन, अब गछौं’

khanepani board1

खानेपानी बोर्डको अडिट शुरुवात देखिकै हुन नसकेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । बोर्डका निवर्तमान अध्यक्ष हर्कराज राईको पालामा अडिट नभएको र अपारदर्शी भएको भन्दै आलोचना भएपछि उनले फेसबुकमार्फत आफ्नो कार्यकालमा मात्र नभै पहिलादेखिकै नभएको स्पष्टीकरण दिएका थिए । 

सोही बिषयमा सोमबार पत्रकारहरुले जिज्ञासा राख्दा बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बोर्डमा आर्थिक कारोबार भएदेखिकै अडिट हुन नसकेको प्रष्ट पारे । ‘हाम्रो अडिट गराउने प्रक्रिया छ, त्यसको लागि निर्णय गर्नुपर्छ । २, ३ बर्षअघि निर्णय भएर सुचना प्रकाशन गर्यौं, तर कोही पनि अडिटर आउनुभएन । शुरुदेखि अहिलेसम्म नै अडिट भएको छैन,’ उनले भने ।

पोखरेलका अुनसार २०७२ सालमा खानेपानी बोर्ड गठन भएको थियो भने आर्थिक कारोबार ०७४ पछि हुन थालेको हो । ‘त्यो बेलादेखिकै अडिट भएको छैन । नवगठित बोर्डले निर्णय गरेर शुरुदेखि अहिलेसम्मकै अडिट गर्ने भएको छ,’ उनले भने ।

‘कोकाह प्रोजेक्टको हिसाबकिताब बोर्डमा छैन, खोजेको पनि छैन’

khanepani board dharan

खानेपानी बोर्डका अध्यक्ष बेघाले कोकाहको भाग १, २ को हिसाब किताब खानेपानी बोर्डमा नभएको र बोर्डले नखोजेको पनि बताए । पत्रकारहरुले निवर्तमान अध्यक्ष राईको नेतृत्वमा भएको अभियानको हिसाब किताब कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने प्रश्न गरेपछि बेघाले यस्तो बताएका हुन् । 

बेघाले तत्कालिन बोर्ड अध्यक्षको नेतृत्वमा नागरिकस्तरबाट रकम उठेको र नागरिकस्तरबाट नै लगानी भएकोले आर्थिक हिसाब किताब बोर्डमा नभएको बताए । ‘त्यसको सार्वजनिक अडिट उहाँहरुले गराउनुहुन्छ । बोर्डले खोजेको छैनौं, बोर्डमा ल्याएको पानी पिउन योग्य भएकोले वितरण गरिरहेका छौं,’ उनले भने,‘त्यो आर्थिक हिसाबकिताब यहाँ जोडिदैन ।’

उनले पकुवा, निशाने, भालुखोलाहरुको आर्थिक हिसाबकिताब पनि नागरिकस्तरबाट नै उठेको, तत्कालिन अध्यक्षकै नेतृत्वमा भएको र सो हिसाबकिताब खानेपानी बोर्डसँग सम्बन्धित नरहेको पनि बताए । ‘त्यो अडिटको बारेमा बोर्डसँग सम्बन्धित नभएको कारणले गर्दा खेरी...अरु कुरा धेर बोलिन,’ पत्रकारको प्रश्नको जवाफ दिदादिदै बीचमै रोकिदै उनले भने, ‘पानीको हिसाबकिताब हामीले लियौं ।’

भिडियो: