धरान: शिक्षाको लागि दौड भन्ने नारासहित बर्षेनी आयोजना हुदै आएको नेवा च्यारिटी रनको १४ र्औं सँस्करण  ‘गोफी धरान १० के रन २०२६’ फागुन ९ गते हुदैछ । 

उक्त दौड प्रतियोगितामा सहभागी धावक धाविकाहरुको लागि एक दिने १ लाखसम्मको स्वास्थ्य विमा गरिएको आयोजक धरान रन समुहले जानकारी दिएको छ । प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा समुहका अध्यक्ष हेमन सुनुवारले यस्तो जानकारी दिएका हुन् । यो बर्षको रन दिवंगत नन्दा कुमार राईको स्मृतिमा समर्पित गरिएको पनि समुहले जानकारी दिएको छ । 

यो बर्ष दौडमा ३५ सयसम्म सहभागी हुने अनुमान गरिएको छ । दौडलाई गोफी क्लोदिङ ब्राण्डले मुख्य प्रायोजन गरेको पनि आयोजकले जनाएको छ । कार्यक्रममा गायक राजु लामा, भ्वाईस अफ नेपालक सिजन ७ का बिजेता नीता थापा मगरको पनि उपस्थिति रहनेछ । 

दौडमा महिला र पुरुष दुवै खुल्ला तर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुले क्रमशः ६० हजार,  ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, १३ र १६ बर्ष उमेर समुह मुनिका र मिड भेट्रान तर्फ महिला र पुरुषमा पहिलो, दोस्रो र तेस्रो हुनेले नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउनेछन् । सुपर भेट्रानतर्फ महिला र पुरुष विजेताले जनही ७ हजार पुरस्कार पाउछन् । 

यस्तै, ह्विल चियरतर्फ महिला र पुरुषमा पहिलो, दोस्रो र तेस्रो हुनेले नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाउनेछन् । स्थानिय धावक धाविका महिला र पुरुषलाई ५ हजार बराबरको उपहार पनि दिइनेछ । यसैगरि, दौडमा सहभागी हुने वडाअध्यक्षहरु मध्येबाट प्रथम हुनेलाई शिल्ड पुरस्कार दिइने आयोजकले जनाएको छ ।