धरान: फागुन २१ गतेको निर्वाचनमा सुनसरी १ मा विभिन्न राजनीतिक दलका उम्मेद्वारहरुलाई नेपाल आदिबासी जनजाति महासंघले बिहिबार ककस कार्यक्रममा निम्त्याएको थियो । केही दिनअघि नै औपचारिक पत्राचार पठाएर र फोन सम्पर्क गरेर निमन्त्रणा गरेपनि श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सरिन तामाङ उपस्थित भएनन् । 

ककसमा सहभागी नभएपछि दुवैलाई आदिबासी जनजातिको एजेण्डाबाट पन्छिएको भन्दै आलोचना पनि भइरहेको छ । आयोजक महासंघ धरान नगर समन्वय परिषदका अध्यक्ष हेमराज जिमी याक्खाका अनुसार राजनीतिक दलका उम्मेद्वारहरुलाई ५, ६ दिनअघि नै कार्यालयमा पत्र दिइएको थियो भने मोवाइल सम्पर्क गरेर पनि ककसमा सहभागी हुन आग्रह गरिएको थियो ।

ती मध्ये श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका उम्मेद्वार साम्पाङले आफ्नो कार्यक्रम पहिल्यै तय भैसकेको हुनाले आउन नभ्याउने जानकारी गराएको अध्यक्ष जिमीले बताए । ‘उहाँले म आउन भ्याइन, अर्कोतिर कार्यक्रम तय भइसकेको छ भन्नुभयो,’ उनले भने,‘रास्वपा उम्मेद्वारलाई समन्वय गर्न सचिवलाई भनेको थिए, उहाँले आउदिन भनेको जानकारी गराउनुभएको थियो ।’

निर्वाचनको प्रचारप्रचसारको अवधि भएकोले पनि उम्मेद्वारहरु मतदाताको घरदैलोमा अहिले ब्यस्त छन् । श्रम सँस्कृति पार्टी र रास्वपा उम्मेद्वारहरु ककस भइरहदा घरदैलोमा ब्यस्त थिए । ककस कार्यक्रम आदिबासी जनजाति महासंघले सुनसरी १, धरानमा पहिलो पटक गरेको हो । ‘जसले जितेर गएपनि भोली हाम्रो माग र मुद्दाहरुको बिषयमा कुरा राख्न सजिलो होस् भनेर पहिलो पटक ककस गरेका हौं,’ जिमीले भने,‘९ जना उम्मेद्वारहरु उपस्थित हुनुभयो ।’

ककसमा एमालेका उम्मेद्वार टिकाराम लिम्बु, कांग्रेसका सुजेन्द्र गोले तामाङ, नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराई, राप्रपाका उद्धव श्रेष्ठ, उज्यालो नेपाल पार्टीका डम्बर लावती (जेन्टल) सहभागी भएका थिए । यस्तै, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्र लिम्बु, मितेरी पार्टी नेपालका रक्षकुमार राई भने सहभागी भएका थिए । सुनसरी क्षेत्र नं १ मा १९ राजनीतिक दल र ७ स्वतन्त्र गरि २६ जना उम्मेद्वार छन् ।