धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेद्वार सरिन तामाङले निर्वाचनपछि रास्वपाको बहुमतको सरकार बन्ने भएकोले मत खेर जान नदिन सुनसरी क्षेत्र नं १ का मतदाताहरुलाई अपिल गरेका छन् । 

 शुक्रबार धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले ३०, ४० बर्षदेखि ६/६ महिनामा सरकार फेरिरहने विसंगति अन्त्यको लागि पनि रास्वपालाई भोट दिन अपिल गरेका हुन् । ‘६/६ महिनामा सरकार फेरिइरहने विकृति, विसंगति अन्त्यकोलागि रास्वपाले बहुमतको सरकार बनाउदैछ, त्यसको लागि पनि तपाईहरुको मत खेरजान दिनुभएन,’ उनको भनाई थियो । 

चुनाव चिह्न घण्टी मन नपरेपनि, सरिन तामाङको गेटअप वा सरिन तामाङ मन नपरेपनि मतदान गर्दैगर्दा आफुले भोट दिनलागेको उम्मेद्वारले चुनाव जित्छ कि जित्दैन भनेर विचार पुर्याउन उनले आग्रह गरे । ‘एक पटक भोट दिदै गर्दा के बुझनुपर्छ भने तपाईले मत दिदै गरेको उम्मेद्वारले चुनाव जित्छ कि जित्दैन हेर्नुस् । अर्को कुरा जितिहाल्यो भने तपाईको उम्मेद्वारको पार्टीले सरकार बनाउन सक्छ कि सक्दैन, त्यो पनि हेर्नुपर्छ,’ उनको आग्रह थियो,‘अब जनताले निर्मम भएर सोचेन भने त्यही टुक्रे सरकार नबन्ला भन्न सकिदैन । स्थिर सरकार बनाउनको लागि पनि रास्वपाको चुनाव चिह्न घण्टी छापमा प्रत्यक्ष र समानुपातिकमा भोट दिनुपर्छ । दुवैमा दिनुपर्छ, बाँडेर भोट दिने छुट छैन ।’

 '२६ हजार ६०६ मत ल्याउछुँ, अर्को चुनावमा सुतेरै भोट माग्छु'

रास्वपा उम्मेद्वार सरिन तामाङले अघिल्लो निर्वाचनमा पाएको भन्दा बढी मत ल्याएर आसन्न निर्वाचन जित्ने दाबी गरेका छन् । उनले २०७९ को निर्वाचनमा १६ हजार ६०६ मत पाएका थिए । यसपाली त्यो भन्दा बढी २६ हजार ६०६ मत ल्याएर जित्ने गरि तयारीमा जुटेको उनको भनाई थियो । ‘अब २६ हजार ६०६ मत ल्याउने तयारी गरेको छु, यो लक्ष्य लिएर हिडेको छुँ,’ उनको भनाई थियो । 

सुनसरी १ जहिल्यै आफ्नो प्राथमिकतामा रहेको खुलाउदै तामाङले हिंसाका आवाजहरु, बिग्रेका भत्केका सडकका आवाजहरु साथै ३०, ४० बर्षदेखिको जनताका पीडाहरुलाई संसद र सरकारमा पुर्याउने बताए । ‘जनताका आवाजहरुलाई सम्बन्धित ठाउँमा पुर्यानुछ, फलाम जस्तो हातले सदनको टेवल ठोक्न मन छ,’ उनले भने,‘मतदाताहरुले ऐतिहासिक मत दिएर इतिहास रच्नुहुनेछ भन्नेमा ढुक्का छुँ । अब आउने ५ बर्ष यति मेहनत गरेर काम गर्नुछ कि अर्को चुनावमा सुतेर भोट माग्ने उम्मेद्वार मै सरिन तामाङ हुनेछ । म अर्को ५ बर्ष भोट दिनुस् भनेर टोल, गाउँ, गल्ली दौडदिन ।’

उनले ५ बर्ष नै मेहनत गरेर जनताको हरेक आवाज सम्बन्धित ठाउँमा पुर्याउने बताए । ‘जनताको विकासको पुल बन्छु, आवश्यकताहरु सम्बन्धित ठाउँमा लगेर घच्घच्याउने काम गर्छु, आफुले प्रतिवद्धता गरेको कामहरु अधिकांश गर्छु,’ उनको भनाई थियो, ‘बेष्ट नगरेपनि बेटर गर्ने प्रयास रहन्छ । तर जनताले दिएको मतलाई दुरुपयोग गरेर शिर झुक्ने काम न सरिनले हिजो गरेको थियो, न आज गर्छ न भोली गर्नेछ ।’

भिडियो: