धरान: नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा एकदिने एमेच्योर गल्फ प्रतियोगिता-२०२६ आयोजना हुने भएको छ। 

धरान १८ स्थित गल्फ कोर्समा फागुन १६ गते  'एनवाईईएफ एमेच्योर गल्फ' प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहनेछ । जसले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको घिमिरले बताए । 

प्रतियोगिताको मुख्य उद्देश्य खेल भावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास तथा सम्बन्ध विस्तार गर्नु रहेको पनि उनले बताए । प्रतियोगिताले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यवसायिक नेटवर्किङ कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुग्ने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतियोगिताको सह(प्रवर्द्धक एसजी ग्रुप रहेको छ । प्रतियोगिताको सञ्चालनमा लाग्ने खर्चको केही अंश स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न र धरानका जुनियर गल्फ खेलाडीहरूको प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका लागि खर्च गर्ने पनि आयोजकको भनाई छ ।