धरान: सुर्खेतमा एक बालिकामाथि भएको बलात्कार र हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्‍याली’ आयोजना गरिने भएको छ। 

फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन् । उनका अनुसार र्‍याली दिउँसो ३ बजेदेखि हुनेछ। र्‍याली धरान उपमहानगरपालिका गेटबाट सुरु भई भानुचोकसम्म हुने पनि खत्रीले जानकारी दिए । 

भानुचोकमा पुगेर कोणसभा आयोजना गरिने जानकारी दिदै खत्रीले समाजमा बढ्दै गएको बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध आवाज उठाउने पनि बताए । साँझमा साढे ६ बजे दीप प्रज्वलन गरेर मृतकप्रति श्रद्धाञ्जली दिदै दोषीलाई कडा कारबाही र मृतकलाई न्यायको लागि आवाज उठाइने पनि आयोजकले जनाएको छ । 

सुर्खेतकी निर्दोष बालिकालाई न्याय दिलाउन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा र्‍यालीमा सहभागी हुन पनि आयोजकले आग्रह गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कार पछि हत्या भएको बताइएको छ । उनी उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन्। 

शनिबार बिहान करिब ६ बजे ट्युसन पढ्न जाने भनेर घरबाट हिडेकी इनिसाको बलात्कार पछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो भने थप तीन जना पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।