धरान: अन्तरष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२ औं सँस्करण फागुन दोस्रो सातादेखि हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन १० गतेदेखि १७ गतेसम्म हुने जानकारी दिएको हो । आठ दिने प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । यसअघि मंसिर १९ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने तयारी भएपनि स्थानीयतह उपनिर्वाचन र साग खेलकुदको कारण प्रतियोगिता सार्नुपरेको क्लबले जनाएको छ । यही समयमा बुटवलमा तिलोत्तमा गोल्डकप र सुदुरपश्चिममा खप्तड गोल्डकप पनि आयोजना हुनेछ । मोफसलको चर्चित तीन गोल्डकप एकै समयमा हुने भएकोले क्लबलहरुले सबैतिर भाग लिन पाउने छैनन् ।

एन्फाका अनुसार तिलोत्तमा गोल्डकप फागुन ८ गतेदेखि शुरु हुनेछ भने खप्तड गोल्कडप फागुन ११ गतेदेखि हुनेछ । ‘एकै समयमा हुने भएकोले एउटा क्लबले सबै गोल्डकप खेल्न सम्भव छैन, हामीले त्यही अनुसारको क्लबहरुसँग सहमति पनि गरेका छौं,’क्लबका महसचिव प्रताप तामाङले भने । प्रतियोगितामा २ विदेशीसहित कुल ८ टिम सहभागी हुने निश्चित भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, मुख्यमन्त्री क्लब, प्रदेश नं १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सहभागी हुुने आयोजक क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । विदेशी टिमकोरुपमा जापान फुटबल लिग टिम र युके एफसि भारतले सहभागिता जनाउने उनले बताए । ‘नेपालको पनि राम्रो टिमलाई ल्याउने प्रयास गर्यौं, विदेशबाट पनि राम्रो टिम नै सहभागी छ । जापानको टिमको लागि मात्र ८ लाख खर्च गर्नेछौं,’उनले भने ।

budha-subba

बुढासुब्बा गोल्डकपको आयोजक पत्रकार सम्मेलन गर्दै ।

 

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ । यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेन् । प्रतियोगिताको लागि कुल ९० लाख आय र ७४ लाख ५५ हजार खर्च हुने अनुमान आयोजकको छ ।
........................................................
भिएआर प्रविधिको प्रयोग गरिने

बुढासुब्बा गोल्डकपको २२ औं सँस्करणमा आयोजकले भिडियो एसिस्टेन्ट रेफ्री(भि.ए.आर.) प्रविधिको पनि प्रयोग गर्ने जनाएको छ । यो प्रयोग सफल भएमा भिएआर प्रविधि प्रयोग गर्ने बुढासुब्बा गोल्डकप नेपालमै पहिलो हुनेछ ।
यो प्रविधि प्रयोग गर्न एन्फासँग आवश्यक समन्वय गर्ने अध्यक्ष राईले बताए । ‘अनलाइनबाट प्रत्यक्ष प्रसारण पनि हुन्छ, फिप्थ रेफ्रीको लागि एउटा भि.ए.आर.रुमको पनि व्यवस्था गछौं,’अध्यक्ष राईले भने,‘खेललाई निष्पक्ष र विवादरहित बनाउन यो प्रविधिको व्यवस्था गरिन लागेको हो ।’