धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उकपुलपति पदमा नियुक्तीको लागि हाल प्रक्रिया चलिरहेको छ ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको तीन सदस्यीयले समितिले गत साता नै ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरिसकेको छ । समितिले सिफारिस गरिएको नाम औपचारिकरुपमा सार्वजनिक नगरे पनि विभिन्न सञ्चारमाध्यमहरुले विराट मेकिडल कलेजका सञ्चालक एवं मुटु रोग बिशेषज्ञ डा.ज्ञानेन्द्र गिरी, प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मा रहेको खुलाएका छन् । अहिले भने स्वास्थ्यमन्त्री अध्इष रहेको समितिको सिफारिस भन्दा पनि नेकपा उपमहानगर कमिटि धरानले पठाएको सिफारिस पत्रको सर्वत्र चर्चा छ । यो सिफारिस पत्रले प्रतिष्ठानको उपकुलपति को बन्ला भन्ने चर्चालाई पनि ओझेलमा पारिदिएको छ ।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दशन श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पठाएको पत्र हिजो शुक्रबार सार्वजनिक भएको थियो । पत्रमा कार्यवाहक उपकुलपति डा.गुरु खनाललाई नै उपकुलपतिमा नियुक्ती गर्न सिफारिस गरिएको छ । स्वास्थ्य मन्त्री पनि नेकपाकै नेता र डा.खनाल पनि नेकपा निकट चिकित्सक नै भएकोले नेकपा धरानले सिफारिस गर्नु अनौठो थिएन । तर, अति गोप्य रहनु पर्ने सिफारिस पत्र सार्वजनिक भएपनि भने राजनीतिक वृत्तमा यसले हलचल मच्चाएको छ । प्राज्ञिक थलोमा खुलेआम राजनीतिक हस्तक्षेप निम्त्याएको भन्दै नेकपाको आलोचन पनि भइरहेको छ ।

नेकपा धरानले माघ २३ गतेको मितिमा सिफारिस पत्र पठाएको छ । पत्रमा विद्यार्थी जीवनदेखि नै डा.खनालले कम्युनिष्ट पार्टीमा संलग्न रहेको र प्रतिष्ठानको अस्पताल उपनिर्देशक, कार्यकारिणी समिति, सिनेट सदस्य र रेक्टरको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गरेकोले उनलाई नै उपकुलपतिमा नियुक्ती गर्न सिफारिश गरिएको उल्लेख गरेको छ । यस्तै, डा.खनाल उपकुलपतिमा नियुक्त भएपछि बाँकी रहेको रेक्टर पदमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्बद्ध सिनियर प्रोफेसर मध्येबाट नियुक्ती गर्न पनि नेकपाको सिफारिश पत्रमा उल्लेख छ । यस्तै, रिक्त रहेको रजिष्ट्रार पदमा पार्टीबाट उपयुक्त विज्ञ प्रशासक नियुक्ती गरेर प्रतिष्ठानको दीर्घकालिन नेतृत्व पार्टी अनुकुल बनाउन सकिने पनि पत्रमा उल्लेख छ ।

bpkihs-nekapa