काठमाडौँ । कोरोना भाइरसको उद्‍गमस्थल हो, चीनको हुबेई प्रान्तस्थित वुहान । कोरोनाको यही उद्गमथलो वुहान र आसपास क्षेत्रमा थुप्रै नेपालीहरु अड्किएका छन् ।

कोरोनाको प्रकोप फैलिए पछि त्यहाँबाट चीनीयाहरु अन्यत्र गइसके भने अन्य देशले पनि आफ्ना नागरिकहरुलाई समयमै उद्दार गरेर फिर्ता लगिसकेका छन् । तर, नेपाल सरकारले भने बल्ल आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको छ । आफ्ना नागरिकहरुलाई समयमा नै उद्दार गर्न ध्यान नदिएको भन्दै सरकारको चर्को आलोचना पनि भएको थियो । वुहान र आसपासमा कुल १ सय ८२ जना नेपालीहरु भएको तथ्यांक छ ।

नेपालीहरुको उद्दार प्रक्रिायअन्र्तगत आज हुबेईका विभिन्न सहरबाट नेपालीहरुलाई वुहानमा भेला गर्ने काम भइरहेको छ । उनीहरुलाई लिनको लागि आज दिउँसो पौने ३ बजे नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट त्यसतर्फ जानेछ । उक्त विमान चिनिया समयअनुसार राति ९ बजे वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उक्त विमान नेपाली नागरिकहरु लिएर स्थानीय समय अनुसार रातको ११ बजे नेपालको लागि उडेर आइतबार बिहान सवा २ बजे काठमाण्डौंमा अवतरण हुनेछ ।

दुई साता क्वारेन्टाइनमा राखिने

आइतबार बिहान चीनबाट उद्दार गरी काठमाण्डौं ल्याइने नागरिकहरुलाई कम्तीमा दुई साता क्वारेन्टाँइनमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । वुहानबाट कुल १८२ नेपाली नागरिकहरुलाई स्वदेश फर्काइदैछ ।

क्वारेन्टाइनमा चीनबाट उद्दार गरि ल्याइएका नागरिकहरु मात्र होइन, उनीहरुलाई लिन चीन गएको विमानका ‘ककपिट क्रु’लाई पनि एक सातासम्म आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’लाई १४ दिनसम्मै क्वारेन्टाइनमा राखिनेछ ।