धरान: धरान उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु उपमहानगरपालिकाले आज सार्वजनिक गरेको छ ।

उपमहानगरले नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र कर्मचारी हस्तान्तरणको प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन नगरबासीलाई आह्वान गरे । उनले खानेपानी वितरण सिस्टमलाई यही फागुन मसान्तभित्र खानेपानी व्यवस्थापन बोर्डमातहतमा ल्याउने निर्णय भएको पनि बताए । ‘फागुन मसान्त भित्र खानेपानी वितरण सिस्टम बोर्ड मातहतमा ल्याउने निर्णय भएको छ । हस्तान्तरण प्रक्रियामा रहेकोले सम्पुर्ण धरान नगरबासीहरुलाई संस्थानलाई महशुल नबुझाउन पनि आह्वान गछौं,’मेयर राईले भने ।

यस्तै, प्रत्येक ३ महिनामा धरानको सडकका खाल्डाखुल्डीहरु मर्मतसम्भार गर्ने संयन्त्र बनाउने पनि नगरसभाले निर्णय गरेको मेयर राईले जानकारी दिए । उनका अनुसार बर्षमा एक पटक मात्र खाल्डाखुल्डी पुर्ने चलनले समस्या भएकोले प्रत्येक ३ वा ४ महिनामा मर्मत गर्ने गरी उपमहानगरमा संयन्त्र नै राखिनेछ । ‘हामी मर्मत शाखा नै राख्छौं, र प्रत्येक तीन महिनामा खाल्डाखुल्डी पुछौं,’उनले भने ।

धरानका कर्मचारी एक तह बढुवा हुने

धरान उपमहानगरपालिकाका स्थायी कर्मचारीहरुलाई एक तह स्वतः बढुवा गर्ने गरि कर्मचारीहरुको सेवा सम्बन्धी ऐन पनि नगरसभाले पारित गरेको छ । यो ऐन अनुसार योग्यता र अवधि पुगेका स्थायी कर्मचारीहरु स्वतः बढुवा हुनेछन् । ‘संघीय सरकारबाट समायोजन भइ आएका कर्मचारीहरु स्वतः एक तह बढुवा भएर आएका छन्, यहीका कर्मचारीहरु लामो समयदेखि वृत्तिविकास नभएकोले प्रक्रियाअनुसार एक तह बढुवा हुने व्यवस्था भएको ऐन पारित भएको छ,’मेयर राईले भने ।

जनपथ सडकलाई ३ करोड बजेट

dharan-upamahanagar1

चालु आर्थिक बर्षमा नै निर्माण सम्पन्न हुने गरी धरान १६ स्थित नगर गौरवको आयोजना जनपथ सडकलाई ३ करोड बजेट विनियोजन गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । संघीय सरकारबाट तीन वटा सडकलाई ३ करोड बजेट आएपछि त्यसलाई एउटै सडकमा लगाएर निर्माण कार्य सम्पन्न गर्ने गरि जनपथ सडकमा लगानी गर्ने निर्णय भएको उनले बताइन् । ‘तीन तिर बजेट हुदा कुनै पनि योजना पुरा नहुने भयो, त्यसैले हामीले सल्लाह गरेर यो आर्थिक बर्षमा नगर गौरवको आयोजनामा परेको जनपथ सडकलाई पुरा गरौं भनेर ३ करोड यही लगाउने निर्णय गर्यौं,’उनले भनिन् ।

उपमेयर भण्डारीका अनुसार यो आर्थिक बर्षमा जनपथसँगै नगर गौरवको आयोजनामा परेको रेडक्रसदेखि विजयपुर चोकसम्मको सडक र देशीलाइन सडक निर्माण सम्पन्न हुनेछन् । जनपथ सडक अपांग मैत्री र वातावरणमैत्री सडकको अवधारणामा निर्माण भइरहेको छ । यो प्रदेशकै नमुना सडक हुने उपमहानगरको भनाई छ ।

नगरसभाले तीनकुने सुन्दर बस्ती विकास आयोजनाको समस्या समाधान भएकोले अब आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको मेयर राईले जानकारी दिए । यस्तै,वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सहज बनाउन भौतिक पुर्वाधारको व्यवस्थापनको लागि बजेट व्यवस्था गरिएको, वडागत बजेटमा वडा समितिको सिफारिशको आधारमा परिमार्जन गरिएको पनि मेयर राईले जानकारी दिए ।