धरान : औद्योगिक, घरेलु तथा कृषि उत्पादनहरुको बजारीकरण तथा प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघले सोमबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरी फागुन १५ गतेदेखि २४ गतेसम्म व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । मेलामा दैनिक उपभोक्ता वस्तुहरु, औद्योगिक सामग्रीहरु, सवारी साधनका विभिन्न उत्पादनहरु, कृषिजन्य सामग्रीहरु, घरेलु, हस्तकला, गार्मेन्ट, होटल लगायतको स्टल रहने आयोजक समितिका संयोजक एवं संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार व्यापार मेलामा सर्वसाधारण उपभोक्ताहरुलाई सुपथ मुल्यमा खरीद गर्न पाउने वातावरण तयार गरिनेछ ।

मेलामा राष्ट्रिय उद्योग, व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन राखिेनछ । भारत, पाकिस्तान र वंगलादेशबाट पनि विभिन्न उत्पादनका सामानहरु आउने संयोजक श्रेष्ठले बताए । मेलाको लागि पाकिस्तानबाट लेदरको सामानहरु आइसकेको छ भने किचनका सामग्रीहरु पनि आएको उनले बताए । ‘वंगलादेशबाट सुतीको सामानहरु ल्याउने प्रयास भइरहेको छ । भारतबाट अटोमोवाइल्सको सामानहरु आउछ,’उनले भने । मेलामा नेपालको घरेलु तथा साना उद्योगको उत्पादनहरु हुनेछ भने नेपालमा उत्पादित जुत्ताहरुलाई संघले नै ४० देखि ६० प्रतिशत छुटमा स्टलमा राख्ने पनि आयोजकले जनाएको छ ।

आयोजकले मेला अवधिमा ५ लाखले अवलोकन गर्ने लक्ष्य राखेको छ । यस्तै, करिब ५ करोड बराबरको कारोबार गर्ने पनि आयोजकको अनुमान छ । करिब सय वटा स्टलमा होटल व्यवसायलाई ६ वटा मात्र दिने संयोजक श्रेष्ठले बताए । अन्य स्टलहरुमा घरमा उपयोगी हुने मेशिनहरु, कृषि औजारहरु, गार्मेन्ट सामानहरु, खाद्यान्न, पहाडी जिल्लामा उत्पादन हुने ढाका, औलोको कपडा, कृषि उत्पादनको पनि स्टल हुनेछ ।

डान्स आइडल हुने

आयोजकले मेला अवधिमा नै स्कुलस्तरीय सोलो डान्स आइडल पनि आयोजना गर्ने घोषणा गरेको छ । धरानभरिका स्कुलहरुबाट विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । विद्यार्थीहरुले सोलो नृत्य प्रस्तुत गर्नुपर्नेछ भने लोकभाकामा मात्र नाच्न पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार पाउनेछन् भने दोस्रो र तेस्रोले क्रमशः २५ हजार ५ सय ५१ र १५ हजार ५ सय ५१ रुपैया पाउनेछन् ।

४ बजेपछि शुल्क लाग्ने

मेला अवधिमा दिउँसो ४ बजेसम्म निःशुल्क प्रवेश हुनेछ भने त्यसपछि शुल्क लाग्ने आयोजकको भनाई छ । दिउँसो ४ बजेपछि राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसहितको मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुने भएकोले शुल्क लिइने संयोजक श्रेष्ठको भनाई थियो । ‘राष्ट्रिय कलाकारहरु ल्याउन खर्च लाग्छ, त्यसले गर्दा पनि ४ बजेपछि चै शुल्क लाग्ने हो,’उनले भने । चार बजेपछि प्रवेश शुल्क ५० रुपैया लाग्नेछ भने विद्यार्थीलाई छुट भएर ३० रुपैया मात्र लाग्नेछ ।