धरान : विश्व स्वास्थ्य संगठनसँग आबद्ध विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको अवसरमा रोट्रयाक्ट क्लब अफ धरान घोपाले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने सचेतना अभियान सञ्चालन गरिएको छ ।

नोभेम्बर १९, २०२६ देखि सुरु भएको उक्त अभियान धरानका विभिन्न सार्वजनिक स्थानमा सञ्चालन गरिएको हो । ल्थ्ःब्त् को सहकार्यमा सञ्चालन भएको अभियानले एन्टिमाइक्रोबियल रेसिस्टेन्ससम्बन्धी विश्वव्यापी जनचेतना अभिवृद्धिको उद्देश्यलाई समुदायस्तरसम्म पुर्‍याउने लक्ष्य राखेको अध्यक्ष अन्जली सुबेदीले जानकारी दिईन् ।

यसमार्फत एन्टिबायोटिक औषधिको जिम्मेवार तथा उचित प्रयोगबारे जानकारी प्रदान गर्नुका साथै एन्टिबायोटिकको जथाभावी तथा अनावश्यक प्रयोगका कारण ब्याक्टेरियामा विकसित हुने प्रतिरोधात्मक क्षमताको बढ्दो जोखिमबारे समुदायलाई सचेत गराइँदै आएको पनि उनले बताइन् ।

20261125_064819

अभियानअन्तर्गत नोभेम्बर १९ मा पहिलो दिन धरानस्थित घोपा क्याम्प अस्पतालको जिओपिडी परिसर अगाडि सचेतना बुथ सञ्चालन गरिएको थियो भने नोभेम्बर २१ मा धरानको रेलवे क्षेत्रमा, नोभेम्बर २२ मा भानुचोकमा कार्यक्रम सञ्चालन गरी सर्वसाधारणमाझ सचेतना फैलाइएको पनि रोट्रयाक्टले जनाएको छ ।

विभिन्न सार्वजनिक स्थानमा अभियान सञ्चालन गर्नुको मुख्य उद्देश्य बढीभन्दा बढी मानिससम्म पुगेर एन्टिबायोटिकको उचित प्रयोगसम्बन्धी जानकारी प्रवाह गर्नु रहेको पनि आयोजनकको भनाई छ।

कार्यक्रममार्फत एन्टिबायोटिक चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्ने, निर्धारित औषधि सेवनसम्बन्धी निर्देशन पालना गर्ने, हातको उचित सरसफाइ कायम राख्ने तथा संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउने विषयमा आगन्तुकहरूलाई जानकारी प्रदान गरिएको बताएको छ। 

20261125_064851

अभियानको पहिलो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको सचेतना बुथबाट ४५ जना आगन्तुक लाभान्वित भएका थिए।

कार्यक्रमलाई थप प्रभावकारी, रोचक र सहभागितामूलक बनाउन अन्तरक्रियात्मक प्रश्नोत्तर तथा क्विज प्रतियोगिता सञ्चालन गरी विजेताहरूलाई पुरस्कार प्रदान गरिएको पनि रोट्रयाक्टले जनाएको छ। साथै, जनचेतनामूलक पुस्तिका तथा फ्लायर वितरण गर्नुका साथै आगन्तुकका लागि आकर्षक फोटो प्रोप्सको व्यवस्था पनि गरिएको थियो ।