धरान : नेपाल पुलिस स्कुल धरानको आयोजनामा आठौँ कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ कप–२०८३ आगामी पुष पहिलो सांता आयोजना हुने भएको छ।
आयोजक विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुष ३ देखी ११ गतेसम्म सन्चालन हुने जानकारी दिएको हो । विद्यालयस्तरदेखि नै फुटबल खेलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाई छ ।
प्रतियोगितामा कोशी प्रदेशका पहाडी क्षेत्र तथा सामुदायिक र सरकारी विद्यालयलाई विशेष प्राथमिकता दिँदै छनोट गरिएका १६ वटा विद्यालयका टोली सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा २०६७ साल मंसिर २८ गते वा सोभन्दा पछि जन्मिएका नियमित अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन्। टिम दर्ताका लागि ८ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने पहिले दर्ता गर्ने टोलीलाई प्राथमिकता दिइनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख पाँच रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ५० हजार पाँच रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ५, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई हरेक विधागत पुरस्कार २ हजार ५ प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक जना सञ्चारकर्मीलाई नगद पाँच हजार पाँच रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याच तथा फाइनल खेलका विधागत उत्कृष्ट खेलाडीलाई नेपाल पुलिस स्कुल धरानमा विद्यालय भर्नामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको मुल आयोजक समितिका संयोजक समादेशक प्रहरी निरीक्षक अनिता महतले जानकारी दिईन् ।
प्रतियोगिताका सबै खेलाडीको सुरक्षा बिमा गरिनेछ। खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरीको खेलमैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताका खेलहरू एन्फा तथा फिफाको प्रचलित नियमअनुसार सञ्चालन हुनेछन् भने एन्फा यू–१४ तथा यू–१६ लिग र राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीले भने सहभागिता जनाउन नपाउने खेलकुद कोर्डिनेटर सागर कार्कीले जानकारी दिए ।
विद्यालयस्तरबाटै फुटबल प्रतिभाको पहिचान गरी भविष्यमा राष्ट्रिय स्तरका सक्षम खेलाडी उत्पादन गर्ने तथा कोशी प्रदेशका विद्यालयहरूबीच खेलकुद सम्बन्ध र आपसी सद्भावलाई थप मजबुत बनाउने लक्ष्य आयोजकले लिएको प्रअ मनिका राई सुब्बाले बताईन्। प्रतियोगिताको कुल खर्च १५ लाख रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्