धरान : धरान वडा नं ६ पानवारीस्थित आसरा सुधार केन्द्रले महिला दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला सुधार केन्द्र पनि निर्माण हुने भएको छ ।
आसरा सुधार केन्द्रसँगैको जग्गा खरीद गरेर महिला दुर्व्यसनीहरुको लागि महिला सुधार केन्द्रको भवन बिहिबार शिलान्यास गरिएको छ । उक्त भवनको शिलान्यास एक समारोहबीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले गरेका थिए ।
हाल सञ्चालनमा रहेको आसरा सुधार केन्द्रमा पुरुष दुर्व्यसनीहरुलाई मात्र उपचार तथा पुर्नस्थापना सेवा रहेको छ । महिला दुर्व्यसनीहरुको संख्यामा समेत बृद्धि हुँदै गएको कारण उनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला आवास भवन निर्माण गरिएको आसराले जनाएको छ । आसरा सुधार केन्द्र नेपाल प्रहरी श्रीमति संघले निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई लक्षित गरी महिला सुधार केन्द्रको स्थापना गरिएको बताए । साथै उनले सुधार केन्द्र सुबिधा सम्पन्न हुने र दुर्व्यसनबाट प्रभावित महिलालाई समाजमा सहजरुपमा पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

हाल सञ्चालनमा रहेको आसरासँगैको २८.२५ धुर जग्गा खरिद गरेर महिला सुधार केन्द्र निर्माण कार्य प्रारम्भ गरिएको प्रथम उपाध्यक्ष शिला बज्रचार्यले जानकारी दिइन् । महिला दुर्व्यसनीहरुलाई राम्रो उपचार गर्ने र विभिन्न आयमुलक तालिमहरु दिएर समाजमा पुर्नस्थापना गर्ने उद्देश्यले केन्द्र निर्माण हुन लागेको पनि उनले बताइन् ।
तीन तले भवन निर्माण गर्ने लक्ष्य राखिएको र कुल ३ करोड ९ लाख लाग्ने अनुमान गरिएको आसराले जनाएको छ । भवनको शुरुवात एक तला आन्तरिक बजेटबाट हुने र तीन तहको सरकारसँग थप बजेट माग गरिने पनि बज्रचार्यले जानकारी दिइन् । साथै, जनसहभागिताको पनि अपेक्षा गरिएको कार्यवाहक अध्यक्षसमेत रहेकी बज्रचार्यले बताइन् ।
भवन शिलान्यास कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्