धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङमा “Empowering Nurse for Quality Patient Care and Safty” विषयक एकदिने कार्यशाला सम्पन्न भएको छ ।
प्रथम वर्ष एम.एस्सी. नर्सिङ (ब्याच २०२६) का विद्यार्थीहरूले आयोजना गरेको कार्यशाला बाल स्वास्थ्य नर्सिङ विभागको मार्गदर्शन र सहजीकरणमा सम्पन्न भएको विभागका विभागीय प्रमुख प्रा.उपेन्द्र यादवले जानकारी दिए । कार्यशालामा गुणस्तरीय बिरामी सेवा, सुरक्षित औषधि व्यवस्थापन, संक्रमण नियन्त्रण तथा प्रभावकारी सञ्चारका विषयमा विस्तृत छलफल र व्यावहारिक अभ्यास गरिएको पनि विभागीय प्रमुख यादवले बताए ।
कार्यक्रममा नर्सिङ सेवा, बिरामी सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवाको विकास सम्बन्धी महत्वपूर्ण शैक्षिक एवं प्रेरणादायी मन्तव्यहरू व्यक्त भएको पनि उनले बताए । कार्यशालाको विशेष आकर्षणका रूपमा औषधि व्यवस्थापनमा हुने त्रुटि तथा संक्रमण नियन्त्रण सम्बन्धी प्रभावकारी भूमिका निर्वाह र सञ्चार सीप अभिवृद्धिका लागि मनोरञ्जनात्मक तथा शिक्षामूलक खेल प्रस्तुत गरिएको थियो। साथै, समूहगत छलफल र प्रस्तुतिमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो ।
कार्यशालामा प्रतिष्ठानका विभिन्न वार्डमा कार्यरत ३० जना वार्ड इन्चार्ज, वरिष्ठ स्टाफ नर्स तथा स्टाफ नर्सहरूको सहभागिता रहेको थियो । कार्यशालाले नर्सहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता, जवाफदेहिता तथा बिरामी सुरक्षाप्रतिको प्रतिबद्धता अभिवृद्धिमा योगदान पुर्याउने विभागीय प्रमुख प्रा.यादवले विश्वास व्यक्त गरेका छन् ।
‘कार्यशालाले नर्सिङ शिक्षामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै गुणस्तरीय, सुरक्षित र प्रभावकारी बिरामी सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण सन्देश दिएको छ,’ प्रमुख यादवले भने,‘ साथै, एम.एस्सी.नर्सिङका विद्यार्थीहरूलाई वैज्ञानिक तथा शैक्षिक कार्यशाला आयोजना र व्यवस्थापनसम्बन्धी व्यावहारिक अनुभव प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको छ।’कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु, एकेडेमिक डिन, कलेज अफ नर्सिङ प्रमुख, विभिन्न विभागका विभागीय प्रमुखहरू, एम.एस्सी. नर्सिङ कार्यक्रम संयोजक, प्राध्यापक, फ्याकल्टी सदस्यलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्