धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुदैछ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तयारी पुरा भइसकेको बताए । अब प्रतियोगिताको उद्घाटनको प्रतिक्षा मात्र रहेको उनको भनाई थियो । उनले रंगशाला श्रृंगार्ने काम मात्र बाँकी रहेको बताए । ‘तयारी सबै पुरा भइसक्यो, सजाउने कामहरु मात्र बाँकी छ,’उनले भने ।

प्रतियोगिताको लागि यसपाली मैदान आर्कषक बनाइएको छ । करिब ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ । सहभागी हुने टिमहरु पनि निश्चित भइसकेको छ । प्रतियोगिता उद्घाटन धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा हुनेछ । ‘यो मैदान अहिलेसम्मकै उत्कृष्ट छ, र यसपालीको खेलहरु पनि रोमाञ्चक हुनेछ,’अध्यक्ष राईले भने । उनका अनुसार उद्घाटन समारोहलाई भव्यता दिदै सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । उद्घटान समारोहमा गायक मनोज मोते र रोहित मास्केले गाउनेछन् भने हिमशिखर बोडिङ स्कुल तरहराका विद्यार्थीहरुले आकर्षक नृत्य पनि प्रस्तुत गर्नेछन् ।

८ वटा टिम सहभागी, जापानी टिम नआउने

stadium

प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछ । प्रतियोगितामा लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । यस्तै, विदेशी टिममा युके एफसि भारत र कलकत्ताको सन डे क्लब, एस.बि.सि.सि. सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ । यसअघि जापानको लिग टिम पनि सहभागी हुने कुरा थियो । कोरोना भाइरसको कारण जापानको टिम आउन नसक्ने भएको अध्यक्ष राईले बताए ।

यसपाली एकै समयमा थुप्रै प्रतियोगिताहरु आयोजना भइरहेकोले आयोजक धरान फुटबल क्लबले खेलाडीहरु पाउन नसकेको छैन । यसले आयोजकको टिम तयारीमा असर पुगेको भएपनि शुक्रबारसम्म खेलाडीहरुको टुंगो लाग्ने अध्यक्ष राईले बताए । आयोजकले यसपाली टिममा २ जना अफ्रिकन, एक जना इजिप्ट र एक भारत नागाल्याण्डको खेलाडी समावेश गर्ने पनि जनाएको छ ।

विजेताले १० लाख, उपविजेताले ५ लाख पाउने

budha-subba-goldcup 1

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ । यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।