धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल खेल हिजो सम्पन्न भइसकेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनल खेल हेर्न खेलप्रेमी हजारौं दर्शकहरु पुगेका थिए । 

फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक उपाधि पनि जितिसकेको छ । चिरप्रतिद्धन्दी दुवै टोलीको फाइनल भिडन्त हेर्न कति दर्शक पुगेका थिए होलान् ? टिकटबाट कति शुल्क उठ्यो होला ? अहिले यसबारे पनि चर्चा परिचर्चा भइरहेको छ । आयोजक धरान फुटबल क्लबका कोषाध्यक्ष घनश्यार बुढाथोकीका अनुसार फाइनल खेलमा करिब साढे ७ लाख हाराहारीमा मात्र टिकटबाट रकम उठेको प्रारम्भिक हिसाब आएको बताए । उनका अनुसार गत २१ औं सँस्करणमा भन्दा यसपाली दर्शक संख्या पनि फाइनलमा घटेको थियो । ‘फाइनल गत सँस्करणको जस्तो भएन, त्यसले गर्दा फाइनलको आम्दानी पनि गत बर्षको भन्दा कम नै भयो,’कोषाध्यक्ष बुढाथोकीले भने,‘यसपाली साढे ७ लाख जति रकम उठ्यो ।’

budha-subba-final1

आयोजकका अनुसार गत बर्ष फाइनलमा टिकटबाट साढे ९ लाख रकम संकलन भएको थियो । यसपाली आयोजक टोली फाइनल नपुग्नु पनि आय कम हुनुको कारण भएको क्लबको भनाई छ । गत बर्ष आयोजक फाइनल पुगेको थियो । यसपाली मनाङको खेल उत्कृष्ट भएपनि पुलिसको खेल अपेक्षा अनुसार थिएन । सेमीफाइनलमा यसबर्षाको सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई पराजित गर्दै पुलिस फाइनल पुग्नु नै आयोजकको लागि निराशाजनक पक्ष रह्यो । ‘मछिन्द्र फाइनल पुगेको भए अझ राम्रो हुन्थ्यो होला, तर यसपाली सबैतिर दर्शक कम नै देखिएको छ,’कोषाध्यक्ष बुढाथोकीले भने ।

२२ औं बुढासुब्बा गोल्डकपको आर्थिक संयोजक नरेन्द्र चोङबाङले पनि अपेक्षा गरेभन्दा कम दर्शक आएको र आम्दानी पनि गत बर्षभन्दा घटेको बताए । रंगशालामा आएका दर्शकहरुमा पनि पासमार्फत पनि आएकाले आय भनेजस्तो नभएको उनको भनाई छ । ‘प्रायोजक, आयोजकले पास पनि बाँडेको हुन्छ । यसपाली टिकट पनि अलिक महंगो भएर पनि हुनसक्छ,’फाइनलमा रकम कम उठ्नुको कारणबारे चोङबाङले भने ।

budha-subba-final2

आयोकज स्रोतका अनुसार फाइनलमा मुख्य प्रायोजकले ६ सय जति पास बाँडेको थियो भने आयोजकमार्फत पनि अढाई सय जति पास बाँडेको थियो । धरानमा बुढासुब्बाको फाइनलमा टिकट काटेर हेर्न भन्दा पनि पास मागेर हेर्न प्रवृत्ति छ । यसले आयोजकलाई आम्दानीमा असर पर्ने गरेको छ । यसपाली आयोजक क्लबले फाइनल खेलको टिकट ४ सय रुपैया बनाएको थियो । फाइनलको टिकट दर ३ सय तोकिएको भएपनि आयोजक धरान फुटबल क्लबले अचानक सय रुपैया वृद्धि गरेको थियो ।