धरान: धरानलाई रक्तदाताहरुको सहरको परिचय दिलाउन साथै रगत अभावले कसैको ज्यान गुम्न नदिन नेवार एकता समाज, धरानले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा यही फागुन २१ गते भानुचोकमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो । रक्तदान कार्यक्रममा कम्तीमा एक हजार प्रिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको समाजका अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार मानिसहरुले आफ्नो जन्मदिन मनाउदा उपहार दिइने गरिन्छ भने समाजले आफ्नो जन्मदिनमा धरानलाई उपहार दिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ‘हामी धरानलाई केही उपहार दिउ भन्ने उद्देश्यले यो कार्यक्रम गर्दछौं,’अध्यक्ष श्रेष्ठले भने,‘धरानलाई सिटि अफ ब्लड डोनरको परिचय दिलाउने हाम्रो उद्देश्य हो, धरानको वीपी प्रतिष्ठानमा उपचारमा आउने कसैले पनि रगत नपाएर मर्न नपरोस् ।’

समाज नेवारी कला, सँस्कृति संरक्षणको लागि साथै सामाजिक कामको लागि स्थापना भएको पनि अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार फागुन २१ गते बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रमस्थलमा ३० वटा बेडको व्यवस्था हुनेछ भने दिनभर साँस्कृतिक कार्यक्रम पनि प्रर्दशनी भइरहेने उनले बताए । ‘रगत दिदा समस्या हुन्छ भन्ने होइन, बरु आफुमा रोग छ भने रक्तदान दिन जादा पत्ता लाग्छ, यसबारे पनि जनचेतना फैलिन्छ,’उनले भने । आगामी बर्षहरुमा प्रत्येक वडाहरुमा पनि नियमित २ वा ३ महिनामा रक्तदान कार्यक्रम गर्ने योजना उनले सुनाए ।

newar-ekata

सहआयोजक जल्पादेवी बचत तथा ऋण सहकारीका अध्यक्ष शरद्रत्न पार्थिवका अनुसार समाजले पहिलो पटक २०६९ मा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला २ सय ३ प्रिन्ट रगत संकलन भएको थियो भने दोस्रो कार्यक्रमा ४ सय ६८, तेस्रोमा ३ सय ३८ र चौथो पटकमा ५ सय ५८ प्रिन्ट रगत संकलन भएको उनले जानकारी दिए । यसपटक रक्तदान कार्यक्रमको संयोजक मञ्जु श्रेष्ठ रहेकी छिन् ।

समाजका उपाध्यक्ष महेश श्रेष्ठले संस्थाको धरानको सबै वडाहरुमा समिति विस्तार भएकोले रक्तदानको दिन सबै वडाहरुबाट दाताहरु सहभागी हुने बताए । त्यसको लागि यातायातको पनि व्यवस्थापन गरिने उनले बताए । रक्तदानमा सहआयोजककोरुपमा जल्पादेवी बचत तथा ऋण सहकारी रहेको छ भने नेवाःदेय् दबूः, नेपाल रेडक्रस सोसाइटीको बिशेष सहयोग रहेको आयोजकले जनाएको छ । यस्तै, पासा खलः, लायन्स क्लब अफ धरान विजयपुर, टक्सार भोजपुर नेवाःखलः र धरान जेसिजको पनि सहकार्य रहेको छ ।

महिलाहरुलाई सम्मान गरिने

sheela-bajracharya

समाजले गोर्खा डिपार्टमेन्ट स्टोरमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अघिल्लो दिन फागुन २४ गते महिलाहरुलाई सम्मान कार्यक्रम राखेको पनि जानकारी दिएको छ । श्रमिक महिला दिवस(८ मार्च) फागुन २५ गते पर्छ । समाजले नेवार समुदायका सामाजिक क्षेत्र, श्रमिक, व्यवसायिक, चिकित्सा, खेलकुद र गायन क्षेत्रका महिलालाई छनौट गरेर सम्मान गर्ने जनाएको छ । रक्तदान कर्यक्रमको प्रमुख अतिथि धरानका मेयर तिलक राई हुनेछन् भने सम्मान कार्यक्रमको प्रमुख अतिथि उपमेयर मञ्जु भण्डारी सुवेदी हुनेछिन् ।

समाजको महिला समितिकी अध्यक्ष शिला बज्रचार्यले संस्थाले सामाजिक कार्य गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिदै आएको बताइन् । साथै, उनले महिलाको कार्यक्रममा महिला मात्र नभै पुरुषहरु पनि सहभागी हुनुपर्ने धारणा राखिन् । उनले महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम समाजले राखेकोमा खुशी पनि व्यक्त गरिन् ।