धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ ।

फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनीले आफ्नो विभिन्न ब्राण्डका जुत्ता चप्पलहरु बिक्रीमा राखेका छन् । उपभोक्ताहरुलाई आफुले चाहेको ब्राण्डको जुत्ता चप्पल छान्न भ्याइ नभ्याई छ । मेलामा गोल्डस्टार, क्रसरोड, शिखर, हाइलाइफ, रन, कोसेली, डियर हिल र शो ल्याण्ड ब्राण्डका जुत्ता चप्पलहरु छन् । शुरुवाती दुई दिन अपेक्षा गरेजस्तो उपभोक्ताहरु नआए पछि पछिल्लो दिनहरुमा राम्रो व्यापार भइरहेको व्यापारीहरु बताउँछन् ।

धरानमा पहिलो पटक जुत्ता चप्पलको मेला लागेको हो । मेलामा उपभोक्ताको राम्रो सहभागीता रहेको लालिगुराँस फुटवेयर कम्पनीका विशाल शर्मा फुँयालले बताए । ‘धरानमा हामी पहिलो पटक आएका छौं, सोचे भन्दा राम्रो भइरहेको छ,’उनले भने,‘बेलुका धेरै नै भिड हुन्छ, कारोबारको हिसाबले पनि राम्रो भइरहेको छ ।’उनका अनुसार स्टलहरुमा ६० हजारसम्मको कारोबार भइरहेको छ ।

jutta-chapal4

मेलामा भेटिएका धरान १५ का बलराम थापाले बाहिर बजार मुल्य भन्दा केही सस्तोमा खरीद गर्न पाएको पाएको प्रतिक्रिया दिए । ‘बाहिर बजार भन्दा एक डेढ सय रुपैयाँ सस्तो पाइदो रैछ, राम्रै लाग्यो,’उनले भने । मेलामा एक सय रुपैयाँको चप्पलदेखी ८ हजारसम्म मुल्यको जुत्तासम्म स्टलमा राखिएको छ । प्रत्येक स्टलमा १५ प्रतिशतदेखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको छ । फागुन १५ गतेबाट शुरु भएको जुत्ताचप्पल मेला चैत ७ गतेसम्म हुनेछ ।

व्यापार भन्दा पनि स्वदेशी उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्य

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण फुँयालले आर्थिक कारोबारको लागि भन्दा पनि स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । ‘हामी कारोबार भन्दा पनि प्रचार प्रसारमा जोड दिइरहेका छौं, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने हाम्रो मुख्य लक्ष्य हो,’उनले भने,‘आयातलाई केही हदसम्म कम गरेर देशमा भइरहेको व्यापार घाटालाई कम गर्नै हाम्रो सोच हो ।’

jutta-chapal

उनका अनुसार स्वदेशी उत्पादनले करिब ६० प्रतिशत बजार धानिरहेको र बाँकी बाहिरबाट आयात गरिएको जुत्ता चप्पलले नेपाली बजार ओगटेको छ । स्कुल कलेजका जुत्ता चप्पलदेखी लिएर सबै ब्राण्डका जुत्ता चप्पल नेपालमा उप्पादन गरिएपनि प्रचार प्रसार कम भइरहेको बताए । धरानमा पहिलो पटक आएपनि सोचे भन्दा राम्रो प्रचार भइरहेको बताए । ‘विराटनगरमा तीन पटक मेला लगाएका छौं, धरानमा पहिलो पटक हो राम्रो छ, दिनादिन कारोबार बढीरहेको छ,’उनले भने ।

उनले देश समृद्ध बन्नको लागि पनि स्वदेशी उत्पादनालाई जोड दिनुपर्ने बताए । ‘देशमा कल कारखाना स्थापना हुनुभनेको धेरै भन्दा धेरै रोजगार सिर्जना गर्नु हो त्यसले मात्र देश आर्थिक रुपमा बलियो हुन्छ’ उनले भने,‘कच्चा पदार्थ यही तयार गर्न सकियो भने धेरै राम्रो हुन्छ, देशको अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्छ ।’ नेपाललाई जुत्ता चप्पलको क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा आफुहरु रहेको उनले बताए । एशोसिएसनका अनुसार नेपालमा उत्पादन भएकोमध्ये साढे चार करोड जोडी जुत्ता चप्पल नेपालमा नै खपत हुन्छ भने करिब १ करोड जोडी बाहिर निर्यात हुने गरेको छ ।

jutta-chapal1 jutta-chapal6 jutta-chapal-mela