धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् ।

आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपमा राज्यमन्त्री दुगड आउने जानकारी दिएको हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा हुने १० दिने औद्योगिक मेला फागुन १५ गते शुरु भएर फागुन २४ गते सकिनेछ । तर, सोही मेलासँगै लाग्ने जुत्ता चप्पल मेला भने आगामी चैत ७ गते मात्र सकिने संघका प्रथम उपाध्यक्ष एवं मेला संयोजक शिवराज श्रेष्ठले जानकारी दिए ।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन जुत्ताचप्पल मेला पनि यही औद्योगिक मेलामै हुन्छ, त्यो सोमबारे हटिया लाग्ने ठाउँमा हुन्छ,’संयोजक श्रेष्ठले भने,‘खासमा औद्योगिक मेला १० दिने हो, तर छोटो समय लगाउदा जुत्ताचप्पललाई फाइदा नहुने भएकोले जुत्ताचप्पल मेला चै २१ दिनसम्म लाग्छ ।’ मेलामा विभिन्न उत्पादनहरुको ८६ वटा स्टल रहने आयोजकले जनाएको छ । मेला अवधिमा करिब ३ लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने पनि आयोजकको अपेक्षा छ ।

मेलामा बैक तथा बित्तिय संस्था २ वटा, होटल ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार चिया, ललिपप ९ वटा स्टल रहनेछ । यस्तै भारत, पाकिस्तान र वंगलादेशको १४ वटा स्टल हुनेछ भने पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिचाई १ वटा, स्थानीय भवन निर्माण १ वटा, अटोमोवाइल २ वटा, विस्कुट, चाउचाउ, कस्मेटिकलगायतको पनि स्टल रहने प्रचार तथा प्रसार उपसमिति संयोजक मानबहादुर विश्वकर्माले जानकारी दिए । दुग्ध विकास संस्थानले व्यापारीलाई दिने रेटमा दुध, ध्यु, आइसक्रिम, नौनीलगायत उपत्पादन बिक्री गर्ने पनि आयोजकले जनाएको छ । संखुवासभाबाट सिस्नुको दाल, बर्मजियाको पेडा, अर्गानिक तरकारी पनि उपलब्ध हुनेछ ।

प्रर्दशनीस्थल बनाउने योजना, हिसाब पारदर्शी गर्ने प्रतिवद्धता

धरानमा ठुला होस वा सानास्तरको औद्योगिक, कृषि उत्पादनको प्रर्दशनी तथा मेला आयोजना गर्ने ठाउँको अभाव छ । यो मेला आयोजकले मेलाबाट भएको नाफाले धरानमा एउटा मझौला किसिमको प्रर्दशनीस्थल बनाउने योजना बनाएको छ ।

संयोजक श्रेष्ठका अनुसार मेलाबाट कम्तीमा पनि २५ लाख जोगाउने अपेक्षा गरिएको छ । ‘धरानमा प्रर्दशनीस्थलको अभाव छ, मेलाबाट नाफा हुन सक्यो भने यही भवन भएको ठाउँमा पनि प्रर्दशनीस्थल बनाउने सोच छ, यसपाली २५ लाख बचाउन सक्छौं र काम शुरुवात गछौं भन्ने लागेको छ,’संयोजक श्रेष्ठले भने,‘यसपाली आय व्याय पारदर्शी गछौं, मेला सकिएको एक साताभित्र पत्रकार सम्मेलन गरेर आम्दानी खर्च देखाउछौं ।’

बाल उद्यान सञ्चालकले राजश्व तिर्ने

audhogik-mela1

औद्योगिक मेलामा अन्यत्रका व्यापारीलाई वाल उद्यान सञ्चालन गर्न दिएको भन्दै इटहरीका एक व्यापारीले धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालयलगायतमा निवेदन दिएका छन् । इटहरीका वाल उद्यान सञ्चालक नारायण महतोको निवेदनमाथि सम्बन्धित निकायहरुले मेला आयोजकलाई बोलाएर आवश्यक जानकारी पनि लिएको छ ।

पत्रकार सम्मेलनमा मेला संयोजक शिवराज श्रेष्ठले वाल उद्यान सञ्चालकले निवेदन दिएको स्वीकार गर्दै ती व्यक्तिले प्रदेश १ का वाल उद्यान सञ्चालन गर्ने व्यावसायीलाई नदिएर अन्यत्रकोलाई दिएको भन्ने असन्तुष्टी र गुनासो व्यक्त गरेको दाबी गरे । औद्यागिक मेलामा बाल उद्यानको सञ्चालक चितवनको भएको आयोजकले जनाएको छ ।

संयोजक श्रेष्ठले उत्पादनको सामानहरुमात्र राख्दा मानिसहरु कम आउने भएकोले बाल उद्यान चलाउन दिनुपर्ने बाध्यता भएको बताए । ‘धरानमा जस्तो सुकै मेला भएपनि साँझ परेपछि मात्र आउने चलन छ, त्यसैले मानिसहरुलाई आकर्षंण गर्नको लागि पनि बाल उद्यान राख्नुपरेको हो,’उनले भने,‘अरुतिरको व्यापारिक, औद्योगिक मेलाहरुमा पनि राख्ने गर्छ । धरानमा चै यो बिषयमा अहिले कुरा उठ्यो, निवेदन पनि पर्यो, र त्यसैले आगामी बर्षहरुमा चै नराख्ने सोच बनाएका छौं ।’ उनका अनुसार बाल उद्यानमा रोटेपिङ, ब्रेक डान्स झुला, मिक्कि माउस, चाद तारालगायत मनोरञ्जनको साधन रहनेछ ।

आयोजक संघका कोषाध्यक्ष गोपाल श्रेष्ठले बाल उद्यानबारे आन्तरिक राजश्व कार्यालयले पनि बोलाएको र त्यसको सञ्चालकले विल अनुसार राजश्व(भ्याट) पनि तिर्ने जानकारी आफुहरुले दिएको बताए । उनका अनुसार झुला सञ्चालक भ्याटमा दर्ता भएको व्यावसायी हुन् । संघले छाप लगाएको टिकट उनकोमा प्रयोग हुने र त्यसमा हुने आम्दानीको राजश्व उनले तिर्ने श्रेष्ठले बताए । ‘हामीले छाप लगाएको टिकट चल्छ, त्यसले कति कमाई हुन्छ भन्ने प्रष्ट हुन्छ । त्यसअनुसार कर पनि तिर्नुपर्छ । आन्तरिक राजश्व कार्यालयमा यही बिषयमा छलफल भयो,’उनले भने ।