धरान: स्कुल लिभिङ सटिफिकेट (एसएलसी) भन्ने वित्तिकै फलामे गेट रुपमा लिइन्थ्यो । एसएलसीलाई महत्वपूर्ण खुट्कीलाको रुपमा लिने गरिन्थ्यो । एसएलसी परिक्षामा उर्तिण हुनेको छुट्टै पहिचान हुन्थ्यो ।
अहिले सरकारले एसएलसीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)को रुप दिएको छ । त्यही एसईई परिक्षालाई लक्षित गरी धरानमा एसईई परिक्षाको पूर्वतयारी परिक्षा लिइएको छ । धरान उपमहानगरपालिका–६ नम्बर वडा कार्यालयको सहयोगमा वडाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी एसईई परिक्षाको पूर्वतयारी अभ्यास गरिएको हो । विभिन्न विद्यालयका १ सय ६१ जना विद्यार्थीहरुलाई पूर्व तयारी परिक्षा लिइएको हो ।
एसईईको पूर्वतयारी परीक्षामा विद्यार्थीलाई अग्रेजी, गणित र विज्ञानको परिक्षा लिइदैछ । परिक्षामा सरस्वती माविबाट ९६, शिक्षा सन्देश बोर्डिङ स्कुलबाट ४७ र एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुलबाट १८ विद्यार्थी सहभागी थिए । आफुले अध्ययन गरेको विद्यालय भन्दा फरक ठाउँमा परिक्षामा सहभागी बन्नु पर्ने भएकोले विद्यार्थीहरुलाई परिक्षा दिन सहज गराउनको लागि पूर्व अभ्यास गराइएको वडाध्यक्ष भुवन सिंह बस्नेतले बताए । ‘एसईईमा जस्तै गरी प्रश्नपत्र, अनुगमन, उत्तरपूस्तिका, परिक्षाको मूल्याङ्कन, सिट प्लानिङ, प्रवेश पत्रको व्यवस्था, समयको व्यवस्थापन जस्ता कुरामा एसईईकै नक्कल गरिएको छ’ उनले भने ‘यसले विद्यार्थीहरुमा सहज हुन्छ ।’
परिक्षाका कोअर्डिनेटर शिक्षक होमनाथ दाहालले धरानमा नै पहिलो पटक विद्यार्थीहरुलाई यो अवसर प्रदान गरिएको बताए । ‘विद्यार्थीलाई एसईई दिन बाहिर जादा डरको भावना कम हुने र आत्मविश्वास बढ्ने भएकोले भोली उनीहरुले परिक्षामा राम्रोसँग लेख्न सक्छन् भन्ने लागेको छ ।’
विद्यार्थीलाई परिक्षा लिइसकेपछि तत्काल प्रश्नपत्र जाँच गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन भएपछि विद्यार्थीहरुलाई पुनः नतिजाको बारेमा ‘मोटिभेसनल क्लास’ दिइने छ । उनले विद्यार्थीलाई उनीहरुको कमजोरी औल्याइदिएर सुधार गर्न सुझाउने बताए । परिक्षामा सहभागी दिप्ती गौतमका अनुसार प्रहरी समेत परिक्षामा आउँदा डर लागेजस्तो भएको बताइन् । यो परिक्षाले एसर्ईईको तयारीमा सहयोग पुग्ने अपेक्षा गरेको बताइन् ।