धरानः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)का कारण ८ मार्चमा गर्न लागिएको ‘११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस’को वृहत कार्यक्रम महिला सञ्जाल धरानले स्थगित गरेको छ ।

सञ्जालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दैे ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा हुन लागेको कार्यक्रम स्थगित गरिएको जानकारी द्यिएको हो । सञ्जालकी अध्यक्ष सविता राई, सचिव कोपिला गौतम भटराई र कोषाध्यक्ष लहरुमाया जिमीले विज्ञप्ती जारी गर्दै ८ मार्चमा हुन पाएको कार्यक्रम आगामी राष्ट्रिय महिला दिवसको दिन मनाउने निर्णय भएको जानकारी दिएका छन् ।

mahila-sanjal1

केही दिन अघि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले नेपाललाई कोरोनाको उच्च जोखिम सुचिमा राखेपछि सरकारले सजकता अपनाउदै कुनै पनि सभा सम्मेलन नगर्न निर्देशन जारी गरिसकेको छ । सरकारको आह्वानलाई मध्यनजर गदै अन्तिम अवस्थामा आएर कार्यक्रम स्थगित गर्नुपरेको सञ्जालकी अध्यक्ष राईले बताइन् । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, तर कोरोना भाइरसको कारण स्थगित गर्नुपर्यो,’अध्यक्ष राईले भनिन् ‘८ मार्चमा गर्न लागेको कार्यक्रम आगामी जेष्ठमा राष्ट्रिय महिला दिवशको दिन गछौं ।’

अध्यक्ष राईका अनुसार फागुन २५ गते कोरोना भाइरस सम्बन्धी भानुचोकमा जनचेतनामुलक पर्चा वितरण कार्यक्रम हुनेछ । यस्तै, सञ्जालले निमन्त्रणा गरिएको प्रमुख अतिथी, अतिथीलगायत सम्मानित व्याक्तित्व सबैमा क्षमा मागेको छ । कोरोनाको कारण अनेमसंघले पनि फागुन २५ गते हुन लागेको कार्यक्रम स्थगित गरेको छ ।