धरान: मास्टर चक्रबहादुर पालुङ्वाको जीवनी 'चक्रको युग चक्र' विमोचन गरिएको छ ।

धरान १२ चतरालाइनस्थित होेटल पुर्वी स्टारमा एक समारोहबीच पुस्तकको विमोचन गरिएको हो । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व प्रदेश १ प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङसहित अतिथिहरुले संयुक्तरुपमा गरेका थिए । मास्टर चक्रबहादुर पालुङ्वाको आत्मवृत्तात्मक जीवनी चक्रबहादुर पालुङ्वा फाउण्डेशनले प्रकाशन गरेको हो । मास्टर चक्रबहादुरको ८६ औं जन्मजयन्तीको अवसरमा पुस्तक आइतबार सार्वजनिक गरिएको थियो । मास्टर चक्रबहादुरको २०७५ माघ २५ गते देहान्त भएको थियो ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै डा.तुम्बाहाङले लेखक चक्रबहादुरमा पढ्नुपर्छ भन्ने चेतना आउनु नै प्रेरणादायी भएको बताए । मास्टर चक्रबहादुर शास्त्रहरुको पनि अध्येता भएको र राम्रो गुणहरु आत्मसात गरेको पनि किताब पढ्दा थाह पाएको उनले बताए । ‘उहाँको किताब पढ्दा मेरै जीवनी देखेँ,’उनले भने,‘यो किताबले लिम्बु सँस्कृति, सँस्कारबारे अहिलेका पुस्ताले थाह पाउछन् ।’

MASTER-CHAKRA-GOVINDA

पुस्तकबारे चर्चा गदैे डा.गोपाल भण्डारीले चक्रबहादुरको जीवनी र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुने बताए । समाजको लागि केही दिनुपर्छ भन्ने उनको भावना नयाँ पुस्ताको लागि प्रेरणादायी हुने डा.भण्डारीको भनाई थियो । यस्तै, डा.रमेश घिमिरेले पुस्तक आत्मवृत्तान्त मात्र नभएर सशक्त सृजनात्मक क्षमता पनि भएको बताए । पुस्तक इतिहास लेखनजस्तो नभएर औपन्यासिक कृतिजस्तो भएको उनको भनाई थियो । ‘संस्कृतिका विषयवस्तु पनि छ, अनुभूतिको तीव्रता छ ।

व्यक्तिको आत्मवृत्तान्त मात्र नभएर लिम्बू समुदायको संस्कृतिलाई पनि समेटिएको छ,’डा.घिमिरेले भने,‘लिम्बू संस्कृतिको बारेमा जान्नका लागि यो कृति नपढी पूर्ण हुँदैन । लिम्बू संस्कृतिको महत्त्वपूर्ण दस्तावेजको रूपमा रहेको छ ।’ पत्रकार हर्ष सुब्बाले लिम्बुका पुर्खाहरुमा लेख्ने चलन भएको र अहिले ती दस्तावेजहरु महत्वपुर्ण भएको धारणा राखे ।