धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आज धुमधामले होली मनाइएको छ ।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, संविधानसभा सदस्य किरण राई, प्रदेश सांसद सावित्री श्रेष्ठ जोशीसमेत होलीमा सहभागी थिए । वडा नं १७ का अध्यक्ष मनोज भटराई पनि सहभागी थिए । प्रतिष्ठानका चिकित्सक, विद्यार्थीहरुले आ आफ्नो विभागको पनि समुह बनाएर होली खेलेका थिए ।