धरान: सामान्य विवादमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने धरानका प्रकाश तामाङ पक्राउ परेका छन् ।

घटनालगत्तै फरार भएका तामाङलाई पुतलीलाइनस्थित तेह्रथुम लजमा लुकेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘घटना पछि फरार भएकालाई खोजी कार्य तीब्र पारेका थियौं, पुतलीलाइनस्थित तेह्रथुम जलभित्रबाट पक्राउ गर्यौं,’डिएसपी न्यौपानेले भने ।

ghaite-chhura

धरान १२ पब्लिक स्कुलको दक्षिणी गेटमा तामाङले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा लामा घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते मध्ये अनन्तको अवस्था गम्भीर छ । उनको कोखामा छुरा प्रहार भएको छ ।

ghaitee

खतरामुक्त रहका अर्का घाइते पेम्बाको देब्रे हातको औला काटिएको छ भने टाउकोमा पनि चोट लागेको छ । पेम्बाका अनुसार छुरा प्रहार गर्ने प्रकाशसँग उनीहरुको चिनजान छ । आज भने उनले एक्कासी अनन्तलाई छुरा प्रहार गरेको थियो । ‘म छुटाउने हुँदा मलाई नै हान्यो,’उनले भने । घटना दिउँसो करिब साढे ४ बजे तिरको भएको उनले बताए ।