बेइजिङ: विश्वव्यापी फैलिदै गएर चिन्ताको बिषय बनिरहेको कारोना भाइरस(कोभिड १९)को उद्गमथलो चीनले भने आफ्नो मुलुकमा कोरोनाको चरम प्रकोप सकिएको उद्घोष गरेको छ ।

आज बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङले बताए। चीनमा पछिल्लो समय संक्रमित र मृतकको संख्या घट्दै गए पनि युरोप र अमेरिकामा भने ह्वात्तै बढेको छ। कोरोनाबाट अहिले युरोप र अमेरिकालाई टाउको दुःखाई भएको छ ।

भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा हिजो बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको थियो । बुधबार हुबेईबाहिर जम्मा ७ जनामा संक्रमण देखिएको थियो । ती मध्ये पनि ६ जनामा आयातित संक्रमण भएको प्रवक्ता फेङले जानकारी दिए। चीनमा बुधबार ११ जनाको मात्रै मृत्यु भएको छ।

बिहीबारसम्म चीनमा ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ । मंगलबार मात्रै चिनियाँ राष्ट्रपति सी चिनिफिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेट गरेका थिए। चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ। गत डिसेम्बरमा वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ। बिहीबार दिउँसोसम्म एक लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ।