तेह्रथुमः २२० केभिए कोशी करिडोर प्रसारण लाइनमा विवाद उत्पन्न भएपछि गत बर्ष धरानको विष्णुपादुका क्षेत्रमा लामो समय काम रोकिएको थियो । उक्त विवाद मुख्यमन्त्री शेरधन राईको पहलमा साम्य भएपछि अहिले काम जारी छ ।

धरानमा विवाद टुंगिएर प्रसारण लाइनको काम शुरु भइसक्दा तेह्रथुमको लालीगुराँस नगरपालिकामा भने विवाद चर्किएको छ । लालीगुँरासको टुटेबाट ताप्लेजुङको ढुंगेसाँघुसम्म ८० किलोमिटर प्रसारण लाइनको काम हुदैछ । यो भित्र पर्ने ११ वटा सामुदायिक वन क्षेत्रको १७ हजार २ सय ६९ वटा रुखहरु काटिने र जैविक विविधतामा असर पर्ने भन्दै वन उपभोक्ताहरुले आन्दोलन शुरु गरिसकेका छन् । उक्त आन्दोलनमा लालीगुराँस नगरका मेयर अर्जुनबाबु माबुहाङले पनि समर्थन जनाएका छन् । लालीगुराँसको चैते सामुदायिक वनमा मात्र १४ सय २५ रुख काटिने बताइएको छ ।

उपभोक्ताहरुल शनिबार र्याली र सभाको आयोजना गरेका थिए । करिब ३ बर्षअघि आइ.ई.ई.गर्नलाई सरोकारवालाहरुले सहमति दिए पनि आईइईको प्रतिवेदन सार्वजनिक नगरिएको, एलाइमेन्ट तोक्दा पनि जानकारी नदिएको र अहिले आफुखुशी काम गरिरहेको मेयर माबुहाङले बताए । ‘डोजर लगाएर जथाभावी खन्ने काम हुदैछ, यसले थुप्रै पानीको स्रोत र मुहान सुकाउदैछ,’उनले भने,‘जैविक विविधता मासिदैछ, र यो क्षेत्रको पर्यापर्यटनमा पनि असर पुग्दैछ ।’

laliguras1

पहिलो चरणको आन्दोलन शुरु भइसकेको भन्दै मेयर माबुहाङले आन्दोलनसँगसँगै कानुनी लडाई पनि गर्ने बताए । आयोजनाले प्रतिवेदन लुकाएर काम गरेको भन्दै उनले न्यायको लागि अदालतको ढोका ढकढकाउने बताए । ‘बिहिबार कुरा गर्ने भनेका छन्, हाम्रो माग ईआईए हुनुपर्छ र आयोजनाको संरचनाको एलाइमेन्ट फेर्नुपर्छ भन्ने हो,’उनले भने ।

यता आयोजनाका उदय गुरागाँईले पनि स्थानीय उपभोक्ताहरुले भनेजस्तै क्षति कम गर्ने गरी आयोजनाले काम गरिरहेको बताए । उपभोक्ताहरुले क्षति धेरै नहोस् भनेर र्याली निकालेको भन्दै उनले काम नरोकिएको पनि बताए । ‘हामी पनि क्षति कम होस् भन्ने नै चाहन्छौं । हाम्रो र उहाँहरुको कुरा मिलेको छ । यही बिषयमा सचेत गराउन र्याली निकाल्नु भएको हो,’गुरागाँईले भने,‘मेयरसँग कुरा भएको छ, फेरि पनि थप छलफल गछौं ।