धरान: नमुना विद्यालयकोरुपमा स्थापित धरान १२ स्थित पब्लिक हाईस्कुलले नर्सरी कक्षादेखि ९ कक्षासम्म अग्रेजी माध्यममा पढाउने भएको छ ।

विद्यालयको बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । विद्यालयका प्रअ इन्द्रमोहन झाका अनुसार गत बर्षदेखि नै नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई शुरु भएको थियो । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अग्रेजी माध्यमबाट अध्यापन गराउने निर्णय भएको प्रअ झाले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि ९ सम्मको अंग्रेजी माध्यमको कक्षा बिहानको समयमा हुनेछ । बिहान ६ बजेदेखि १२ बजेसम्म बिहानी कक्षा हुने झाले जानकारी दिए ।

प्रअ झाका अनुसार हिजोआज विद्यार्थीहरु रातभरि मोवाइल र इन्टरनेटमा अलमलिने र बिहान ढिलो उठ्ने गर्छन् । त्यसैले उनीहरुलाई बिहानी कक्षा राखिएको पनि उनको भनाई छ । 'बिहान चाडो उठ्नको लागि त राती चाडो सुत्न बाध्य हुनुपर्छ, त्यसैले बिहानी कक्षा ६ बजेदेखि राखिएको हो,'उनले भने ।

public-school1

यसैगरि, नर्सरीदेखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । अहिलेको समयमा प्रतिस्पर्धामा उत्रनको लागि यो निर्णय गरिएको हो, झाले भने । प्रअ झाका अनुसार विद्यालयमा नृत्य, संगीत, चित्रकलालगायतको कक्षाहरु पनि थप्दै लगिनेछ । आगामी शैक्षिक सत्रको लागि चैत २६ गते प्रवेश परीक्षा लिइने पनि उनले बताए । 'अहिलेसम्म यो निर्णय छ, अब सार्नुपर्ने भयो भने थप निर्णय हुन्छ,'उनले भने ।

यो विद्यालय २००३ सालमा स्थापना भएको हो । यो विद्यालय सुनसरीको नमुना विद्यालयको यसपाली घोषित भएको छ । विद्यालयमा १९ सय विद्यार्थी अध्ययनरत छन् भने हाल २ वटा बस पनि सञ्चालनमा ल्याएको व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताए ।

indramohan-jha