धरान: विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको वा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा स्वास्थ्यकर्मीहरु खटिएका हुन्छन् । त्यसैले उनीहरुलाई पनि संक्रमण हुने खतरा ज्यादै हुन्छ ।

तसर्थ, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पिपिई) अति आवश्यक छ । तर, अहिले विश्वभर नै पिपिईको अभाव छ । जसले गर्दा नेपाल जस्तो तेस्रो मुलुकका स्वास्थ्यकर्मीहरु आवश्यक पिपिई नपाएर जोखिममा नै छन् । यसैबीच, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्स तथा कर्मचारीहरुले आवश्यक पिपिई विना नै उपचारमा खटिइनु परेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले चाडो भन्दा चाडो सुरक्षा सामग्रीहरु उपलब्ध गराउन माग गरेका छन् ।

nurse-bp

नर्स तथा कर्मचारीहरुले आइतबार प्रतिष्ठानका कार्यवाक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई सुरक्षा सामग्री उपलब्ध गराउन लिखितरुपमा नै माग गरेका हुन् । आफुहरु उपचारमा खटिए पनि पिपिई नहुदा आफुसँगै परिवार पनि संक्रमणको जोखिम भएको नर्सहरुले गुनासो गरेका छन् । उनीहरुले चाडो पिपिई उपलब्ध गराउन र विमा गर्न पनि माग गरेका छन् ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन आफु गम्भीर रहेको तर सबैतिर अभाव भएकोले समस्या भइरहेको बताए । सरकारसँग पहल भइरहेको उनले बताए । प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले वार्डमा सर्जिकल मास्क र ग्लोब्स भएपनि हुने भएकोले सोही अनुसार उपलब्ध गराएको बताए । तर, ल्याब र आइसोलेसनमा फुल पिपिई आवश्यक भएकोले त्यहाँ दिइएका बताए ।